सुध्रियो नेपाली पासपोर्टको र्‍याकिङ, १०१ बाट ९७औँ स्थानमा उक्लियो


काठमाडौं-  हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ सार्वजनिक भएको छ, जसअनुसार विश्वका विभिन्न देशका पासपोर्टको शक्ति रैंकिङमा फेरबदल देखिएको छ । यो इन्डेक्सले कुनै देशका नागरिकले कति देशमा भिसाविना प्रवेश पाउन सक्छन् भन्ने आधारमा पासपोर्टको शक्ति मापन गर्छ ।

नयाँ प्रतिवेदनअनुसार नेपालले गत वर्षको तुलनामा केही सुधार गरेको छ । सन् २०२५ मा १०१औं स्थानमा रहेको नेपाल यस वर्ष ९७औं स्थानमा उक्लिएको छ । नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा छन्, जसको भिसा–फ्री स्कोर ३५ रहेको छ ।

यस वर्ष सिंगापुर विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा पहिलो स्थानमा रहेको छ । सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना यात्रा गर्न सक्ने सुविधा पाएका छन् ।

दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यी देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन् । त्यस्तै, तेस्रो स्थानमा १८६ स्कोरका साथ स्विडेन रहेको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका यस वर्ष पुनः शीर्ष १० भित्र प्रवेश गरेको छ ।

छिमेकी मुलुकहरूको अवस्थाअनुसार भारत ७८औं स्थानमा रहेको छ, जसका नागरिकले ५७ देशमा भिसाविना प्रवेश पाउँछन् । गत वर्ष भारत ७७औं स्थानमा थियो ।

त्यस्तै, चीन ८२ भिसा–फ्री स्कोरका साथ ५६औं स्थानमा रहेको छ, जुन गत वर्ष ६४औं स्थानमा थियो ।

पाकिस्तान भने ३० स्कोरसहित १००औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया