
उत्तरार्द्धको ‘पेशा’ बन्दै राजनीति !
नेपालमा सबैभन्दा भरपर्दो व्यवसायका रुपमा ‘राजनीति’ स्थापित भएको छ । पछिल्लो समय आफू र आफ्नो एक परिवारको जीवनलाई सुखमय बनाउने लक्ष्यसहित युवावस्था र काम गर्न सक्ने उर्वर उमेरमा दशकौं उमेर अर्कै व्यवसायमा लागेकाहरु जीवनको उत्तरार्द्धमा देश बनाउन भनेर अगाडि सरिरहेको देखिन्छ ।
युवा र काम गर्न सक्ने उमेरमा आफू र परिवारलाई पहिलो प्राथमिकता राख्दै जीवन निर्वाह गरेकाहरु उत्तरार्द्धमा पद र शक्तिको लालसा राख्दै राजनीतिमा प्रवेश गर्नु नेपालमा कुनै नौलो काम होइन ।
नेपालको परिवेश हेर्दा पछिल्लो समय राजनीतिज्ञले मुलुक बनाउनेभन्दा पनि ‘लुट्नमै उद्धत’ रहेको पुष्टी भएको छ । यदि त्यस्तो हुनेथिएन भने ३६ घन्टाको प्रदर्शनकै कारण मुलुकको सबैभन्दा सुरक्षित स्थानबाट ज्यान जोगाउनकै लागि हेलिकोप्टरको सहारा लिनुपर्दैनथ्यो ।
३०औं र ४०सौं वर्षसम्म एउटा संगठनमा जागिर खाएर पेन्सन पकाएकाहरुमात्र नभई पदकै लोभमा राजीनामा दिएर संगठनविरुद्ध आगो ओकल्नेहरु अहिले यतिबेलाको खेतीमा हात हालेका छन् । पछिल्लो समय राजनीतिलाई खेतीको रुपमा स्थापित गर्दै निर्वाचनको संघारमा मेलो लगाउन सुरु गर्नेहरु प्रशस्तै छन् ।
नेपालमात्रै यस्तो मुलुक होला, जीवनमा ३० वर्ष जागिर खाँदासम्म मुलुकका लागि एउटा पनि सम्झनयोग्य काम गर्न नसक्नेले अवकाश जीवनमा समृद्ध मुलुक बनाउँछु भन्ने हाँक दिइरहेका छन् ।
पछिल्लो समयमा यीनै र यस्तै व्यक्तिहरुले राजनीतिलाई पेशाको रुपमा अंगाल्दै गर्दा धेरै राजनीतिक दलहरु दर्ता भएको उदाहरण स्मरण गराइरहनु नपर्ला, त्यही पनि जागिरे जीवनमा पेन्सन पकाएका वर्तमान प्रधानमन्त्री सुशीला कार्कीदेखि मन्त्रीहरु कुलमान घिसिङ, रामेश्वर खनाल, अनिलकुमार सिन्हा, सुधा गौतम जागिरबाट पेन्सन पकाएर राजनीतिमा हाम फालेका छन् ।
यी मात्र नभई नेपाल प्रहरीमा लामोसमय काम गरेर नेतृत्व गरिसकेपछि पनि वा नेतृत्वमा पुग्न नसकेर संगठनलाई लात हानेर हिँडेकाहरु पनि राजनीतिमा लागेको उदाहरण जगजाहेर नै छ । पूर्व आईजी ध्रुवबहादुर प्रधान, सर्वेन्द्र खनालमात्र नभई आईजी हुन नसकेका नवराज सिलवाल, रमेश खरेलहरुले पनि राजनीतिलाई पेशा बनाउनतिर लागेका छन् ।
त्यससँगै पछिल्लो समय आईजी नबनाएकोमा जेनजी आन्दोलनका क्रममा भएको ध्वसंलाई उपजको रुपमा लिँदै पूर्वप्रधानमन्त्रीको घर जलाएकोमा खुशी मनाइरहेका विश्वराज पोखरेलले पनि राजनीतिलाई भर्याङ बनाउँदै मुलुक बनाउने नाममा एउटा राजनीतिक दलमा समाहित बनेका छन् । जसले ३०औं वर्षसम्म मुलुकका लागि काम गर्नेभन्दा आफ्नो लागि काम गरेर सन्तानको जीवन सुरक्षित गरे, अब वृद्धावस्थामा मुलुक बनाउँछु भनेर चर्का भाषण गर्ने दिन आएका छन् ।
त्यसबाहेक नायिका करिश्मा मानन्धर, रेखा थापा, कोमल वली पनि राजनीतिमा होमिएका व्यक्ति हुन् । त्यस्तै पछिल्लो समय रिमा विश्वकर्मा, एलिजा गौतम, खुश्वु ओली पनि राजनीतिमा होमिएका छन् ।
त्यसका साथै रास्वपाका कार्यबहाक सभापति डीपी अर्याल म्यानपावर व्यवसायबाट राजनीतिमा होमिएका छन् । त्यस्तै स्वर्णिम वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुमा जागिरपछि राजनीतिमा होमिएका छन् । डा. तोसिमा कार्की, सोविता गौतम, शिशिर खनालले पनि फरक पेसाबाट राजनीतिमा पाइलो सारेका छन् ।
त्यसका साथै पत्रकारिता क्षेत्रमा लामोसमय व्यतित गरेका रवि लामिछाने, जगदीश खरेलमात्र नभई लामोसमय स्वास्थ्य क्षेत्रमा खटिएका डा. शशांक कोइराला पनि आफ्नो पेशापछि राजनीतिमा प्रवेश गरेका हुन् । हुनत, त्यसभन्दा अगाडि प्रथम राष्ट्रपति डा. रामवरण यादव नै चिकित्सक पेशाबाट एकाएक राजनीतिमा हामफालेका हुन् ।



कागजपत्र |
