

‘क्रयास टेस्ट’ नै नगरी ‘फाइभस्टार’ दाबी गर्दै एमजी, एस–५ बाट उपभोक्ता झुक्याउने प्रयास !

काठमाडौं- नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नयाँ विद्युतीय गाडी एमजी एस–५ इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको उक्त गाडी कम्पनीले युरोपेली सुरक्षा निकाय यूरो एनक्यापबाट फाइभस्टार सेफ्टी रेटिङ पाएको दाबी गर्दै प्रचार गरिरहेको छ । तर, उक्त गाडीको ‘क्रयास टेस्ट’ नै भएको छैन, अर्थात् यूरो एनक्यापको सूचीमा नै सूचीकृत छैन ।
यसरी सुरक्षाको गलत दाबीमार्फत उपभोक्ता झुक्याउने प्रयास गरिएको भन्दै आलोचना सुरु भएको छ । यूरो एनक्यापले गाडीहरूको सुरक्षा मूल्याङ्कन गर्न ‘क्रयास टेस्ट’ गर्दै रेटिङ दिने गर्छ । तर, एमजी एस–५ इभी यूरो एनक्यापको कुनै सूचीमा देखिएको छैन, जसले गर्दा ‘फाइभस्टार’को दाबी नक्कली भएको पुष्टि गर्छ ।
नयाँ गाडी, चर्को प्रचार
प्यारामाउन्ट मोटर्सले सार्वजनिक गरेको एमजी एस–५ इभीलाई एमजी जेडएस इभीको उत्तराधिकारीको रूपमा प्रस्तुत गरिएको छ । कम्पनीको दाबीअनुसार, यस गाडीमा अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र नयाँ पुस्ताका इलेक्ट्रिक गाडीप्रेमीलाई आकर्षित गर्ने विशेषता समावेश गरिएको छ ।
नेपालमा यो गाडी कम्फर्ट र डिलक्स भेरियन्टमा उपलब्ध छ । दुवैमा ४९ किलोवाट घण्टा ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले २५० एनएम टर्क दिनसक्छ । डिलक्स भेरियन्ट लामो दूरी कभर गर्न सक्ने दाबी गरिएको छ । मूल्य क्रमशः ४३.९९ लाख, ४९.९९ लाख, र ६२ किलोवाट घण्टा ब्याट्री भएको संस्करणको मूल्य ५४.९९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
प्रविधि आधुनिक, सुरक्षा प्रश्नमा
गाडीमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली तथा विश्वकै सबैभन्दा पातलो ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी प्रविधिले गाडीलाई सन्तुलन र स्थिरता दिन सहयोग गर्ने भनिएको छ ।
तर प्रविधिको नाममा सुरक्षामा भ्रमपूर्ण प्रचार गर्दै कम्पनीले उपभोक्तालाई गलत सूचना दिइरहेको देखिन्छ ।
यसअघि सन् २०२३ मा एमजीको अर्को मोडल एमजी–५ ले यूरो एनक्यापको परीक्षणमा शून्य स्टार पाएको थियो, जुन तथ्यले एमजीका गाडीहरूको सुरक्षा स्तरप्रति गम्भीर प्रश्न उठाउँछ । अब पुनः एमजी एस–५ इभीको सन्दर्भमा नटुंगिएको सुरक्षा मूल्याङ्कनलाई ‘फाइभस्टार’ दाबी गर्दै प्रचार गर्नु कम्पनीको अनैतिक चाल हो भन्ने आरोप लागिरहेको छ ।
सुरक्षाको झुटो प्रचार मात्र होइन कम्पनीले वारेन्टी र ग्यारेन्टीमा समेत समस्या दिन सक्ने सम्भावना रहेको भन्दै उपभोक्ता र विशेषज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन् ।
विशेषज्ञहरूका अनुसार कुनै पनि गाडी किन्ने बेलामा वास्तविक सुरक्षा परीक्षण रिपोर्ट, आधिकारिक मान्यता प्राप्त संस्थाबाटको प्रमाणिक रेटिङ र ग्यारेन्टी सम्बन्धी स्पष्टता अनिवार्य हेर्नु आवश्यक छ ।
एमजी एस–५ इभी प्रविधिमा अगाडि देखिए पनि सुरक्षाका झुटा दाबी र भ्रम फैलाउने मार्केटिङले उपभोक्ता अधिकारमाथि प्रश्न उठाएको छ ।

