


गलतलाई गलत भन्न नसक्ने कांग्रेस कार्यकर्ता बीपीका अनुयायी हुँदैनन् : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र आत्मालोचना र नैतिक स्पष्टीकरण आवश्यक रहेको बताएका छन्। उनले गलत कार्यप्रति मौन बस्ने प्रवृत्ति बीपी कोइरालाको विचारधारासँग मेल नखाने स्पष्ट पारे।
शुक्रबार प्रजातन्त्र सेनानी संघ, बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले पार्टी कार्यकर्ताले सही–गलतको स्पष्ट पक्ष लिनुपर्नेमा जोड दिए।
‘राम्रो भनेको राम्रो भन्नुपर्छ, गलत भनेको गलत भन्न नसक्ने हो भने हामी न कांग्रेसका कार्यकर्ता हौँ, न बीपीका अनुयायी,’ कोइरालाको प्रष्ट भनाइ थियो। उनले बीपी कोइरालाको भनाइ स्मरण गराउँदै थपे, ‘गलत हेरेर टुलुटुलु बस्नेहरू दास हुन् भन्ने बीपीको भनाइ हामीले बिर्सनु हुन्न।’
उनले कांग्रेस सत्ता–सञ्चालनमा देखिए पनि वास्तविक सत्ता अर्को ठाउँमा केन्द्रित भएको टिप्पणी गरे। ‘सरकारमा छौँ तर सत्तामा छैनौँ भन्ने मेरो बुझाइ हो,’ भन्दै उनले सरकार र सत्ताबीचको भिन्नता स्पष्ट पारे।
कार्यक्रममा कोइरालाले सरकारभित्रका मन्त्रीहरूलाई सहकार्यको आग्रह गर्दै सरकारबाहिर रहेका नेता–कार्यकर्ताहरूले सजग नागरिकको भूमिकाबाट सत्य बोल्नुपर्ने धारणा व्यक्त गरे। ‘हामी बाहिर बसेका नेताले सही कामलाई समर्थन र गलतलाई आलोचना गर्न हिचकिचाउनु हुँदैन,’ उनले भने।

