काठमाडौंमा इन-ड्राइभरको औपचारिक रूपमा सेवा सुरू


काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इन-ड्राइभरले काठमाडौंमा औपचारिक रूपमा सेवा सुरू गरेको छ। अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरूभन्दा फरक इन-ड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रूपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा दिनेछ।

यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको इटिए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन्।

त्यस्तै चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दुरी, यात्रुको रेटिङ, पिकअप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इन-ड्राइभर ट्रिपको सङ्ख्याका आधारमा छनोट गर्न सक्नेछन्।

‘इन-ड्राइभर नेपालमा ल्याउन उत्साहित छौं। हाल यो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै अन्य शहरहरूमा पुग्नेछ,’ इन-ड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन्।

सेवा सञ्चालनको सुरूवाती ६ महिनामा इन-ड्राइभरले चालकसँग कुनै कमिसन नलिने समेत उनले बताइन्। यसको मतलब उनीहरूले प्रत्येक राइडको सम्पूर्ण शुल्क करबाहेक आफैंले प्रयोग गर्न पाउनेछन्। त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइड हेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रूपले कम हुनेछ।

पवित नन्दाका अनुसार इन-ड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरूलाई साइन अप गरिसकेको छ।राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रवेश गर्नुपर्नेछ। प्रविधिमा रजिस्टर भएका चालकहरूले तुरून्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्वीकार गर्ने, अस्वीकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन्।

इन-ड्राइभर एउटा ग्लोबल आइटी तथा यातायात प्लेटफर्म हो। विश्वमा सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवाका रूपमा चिनिन्छ।

यसका सेवाहरू विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन्। कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ। इन-ड्राइभरले अन्तर-शहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन शहरमा डेलिभरी लगायतका अन्य सेवा पनि प्रदान गर्दैछ।

इन-ड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा छ। यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरूमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ। साथै एक हजार सय जनालाई रोजगारी दिएको छ।

प्रतिक्रिया