


सभापति दौडमा रहेका गगन र शेखरबीच सम्बन्धमा ‘आइसब्रेक’

काठमाडौं- झण्डै एक वर्षपछि नेपाली कांग्रेसका दुई प्रभावशाली नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच संवाद पुनः सुरु भएको छ। विगत ११ महिनादेखि संवादहीन सम्बन्धमा रहेका कोइराला र थापाबीच शुक्रबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो।
पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै दुवै नेता छुट्टाछुट्टै तयारीमा जुटिरहेका बेला भएको यो भेटलाई कांग्रेसभित्रको भावी समिकरणसँग जोडेर हेरिएको छ। विशेषतः सभापति शेरबहादुर देउवाले अनुशासन समितिको बैठक बोलाई कोइरालासँग स्पष्टिकरण माग्ने तयारी गरेपछि कोइरालाले सम्वादका लागि थापालाई आफ्नो सचिवालयमा बोलाएको स्रोतको दाबी छ।
भेटमा पार्टीको अनुशासन समिति, क्रियाशील सदस्यता र महाधिवेशनको कार्यतालिकासम्बन्धी विषयमा विस्तृत छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ। भेटमा कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम तथा राजीव कोइरालाको उपस्थिति रहेको थियो।
१३औं महाधिवेशनमा कोइराला प्यानलबाट महामन्त्री बनेका थापा अहिले सम्भावित सभापतिका दाबेदारको रूपमा देखा परेका छन्। कोइराला स्वयंले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यस्तो अवस्थामा भएको भेटवार्ताले दुबै नेताबीच सम्वादको पुनः थालनी मात्र नभई कांग्रेसभित्र गहिरो समिकरणको संकेतसमेत दिएको विश्लेषण गरिएको छ।

