ज्यान मुद्दाबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमलाई मस्तिष्कघात


काठमाडौं- ज्यान मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। हाल उनको काठमाडौं माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार, आलमलाई शुक्रबार बिहान करिब ७ बजे मस्तिष्कघात भएको थियो। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको हो। अस्पताल भर्ना हुँदा उनको बोली अस्पष्ट थियो र शरीरको दाहिने भाग कमजोर अवस्थामा थियो। एमआरआई परीक्षणपछि उनलाई ‘एक्युट स्ट्रोक’ भएको पुष्टि गरिएको चिकित्सकहरूले बताएका छन्।

“अहिले उहाँलाई औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं,” उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए। उनका अनुसार आलम दीर्घकालीन मधुमेह र उच्च रक्तचापको औषधि पनि सेवन गर्दै आइरहेका थिए, जसले मस्तिष्कघातको जोखिम अझ बढाएको हुनसक्छ।

पूर्वसांसद आलमसहित चार जना २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम विस्फोट र त्यसपछिको घटनामा संलग्न भएको अभियोगमा दोषी ठहर भएका थिए। तर, गत बुधबार उच्च अदालत वीरगञ्जले उनीहरूलाई ज्यान मुद्दामा सफाइ दिएको थियो।

 

प्रतिक्रिया