लोक-संस्कृति र साहित्यले राष्ट्रिय एकता र सामाजिक सद्‍भावलाई सुदृढ बनाउछः राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् ।

धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवजसरमा उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

“लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उनले भने ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता भएको बताए ।

“हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उनको योगदान नेपाल र नेपालीले कहिल्यै नविर्सने बताए । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया