नेपाल प्रहरीका आईजिपी बसन्त कुवँरलाई बर्खास्त गर्ने तयारी
आगामी मन्त्रीपरिषद् वैठकमा निर्णय हुँदै
काठमाडौं–सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त बहादुर कुवँरलाई हटाउने तयारी गरेको छ । गृहमन्त्री रवि लामिछानेको प्रस्तावमा उनलाई हटाउन लागिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजिपीको भूमिकामा प्रश्न उठाउँदै गृहमन्त्री लामिछानेले उनलाई हटाउने तयारी गरेका हुन् ।
उच्च स्रोतका अनुसार आगामी मन्त्रीपरिषद् बैठकमा यसबारे निर्णय गर्ने तयारी छ । गृहमन्त्री निकट स्रोतका अनुसार सिधैं बर्खास्त गर्ने वा छानविन समिति बनाएर उनलाई आईजीबाट हटाउने दुई विकल्पबारे छलफल जारी छ ।
गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सकारात्मक रहेको बताइएको छ । तर, सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल आईजी हटाउने प्रस्तावमा सहमति जनाएका छैनन् ।
आईजी कुवँर तत्कालीन समयमा अपराध महाशाखाको एसएसपी हुँदा भुटानी शरणार्थीबारेको उजुरीसहितका अन्य फाइल उनले लुकाएको गृहको आन्तरिक छानबिनबाट खुलेको गृहमन्त्री निकट स्रोतको दाबी छ ।
तत्कालीन समयका गृहमन्त्री, गृहसचिव कारबाहीमा पर्ने तर आईजी कुवँर जोगिएपछि रविले आईजीविरुद्ध आन्तरिक अनुसन्धान गर्न लगाएका थिए ।
गृहमन्त्री रविले सोही कुरामा प्रधानमन्त्रीलाई सहमत गराएको बताइएको छ । रविले आईजीमाथि छानविन गर्न पूर्व प्रहरी अधिकारीहरुको नेतृत्वमा आन्तरिक टोली बनाएका थिए ।
रवि र आइजीको सुरुवाती दिनदेखि राम्रो सम्बन्ध छैन । उनले पटक–पटक प्रधानमन्त्रीसँग आईजी हटाउन प्रस्ताव गर्दै आएका थिए ।
के हो नक्कली भुटानी प्रकरण ?
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दा हो नक्कली भुटानी शरणार्थी प्रकरण । अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका लगेको थियो । सोही कुराको फाइदा उठाउँदै तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसहित उच्च पदस्थको मिलेमलोमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय चर्चामा आएको थियो ।
०७९ चैतबाट नक्कली भुटानी प्रकरण बाहिरिएको थियो । जसमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ५५ दिन अनुसन्धान गरेको थियो ।
नक्कली भुटानी प्रकरणमा उजुरी परेको १० महिनापछि मात्रै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
एसएसपी हुँदा लुकाएका थिए कुँवरले सुचना
नक्कली भुटानी प्रकरणको सुचना सबैभन्दा पहिले पुगेको थियो अपराध महाशाखामा । त्यो समयमा अपराध महाशाखाका प्रमुख थिए एसएसपी कुवँर । जो हाल नेपाल प्रहरीका आईजीपी छन् ।
त्यो बेला उजुरी परेको कार्यालय उपत्यका अपराध अनुसन्धानको प्रमुख थिए हालका आइजीपी कुँवर । उनी एसएसपीको भूमिकामा थिए ।
एसएसपी कुवँर अपराध महाशाखाको नेतृत्वम रहँदा नै नक्कली भुटानी प्रकरणबारे केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको सुचना पुगेको थियो । उनीहरुबारे अपराध महाशाखाले केरकार पनि ग¥र्यो । सोही समयमा केहीलाई पक्राउ गरेर अनुसन्धान पनि भयो । अभद्र व्यावहारमा उनीहरुमाथि मुद्दा चलाइएको तत्कालीन प्रहरी अधिकारीहरु बताउँछन् ।
तर ती व्यक्तिले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, आरजु राणा, मन्जु खाणको नाम लिएपछि महाशाखाको नेतृत्वमा रहेका एसएसपी कुवँर झस्किएका थिए । उनले सो सुचना काँग्रेस सभापति शेरबहादुर देउवालाई पुर्याएर सो उजुरी सामसुम पार्न खोजेका थिए । सोहीबापत उनी बढुवा भए । एसएसपीमा १२ औं नम्बरमा रहेका उनी डीआईजी बढुवामा १ नम्बर हुँदै आईजीपी नियुक्त भए । उनको डीआईजी बढुवा धेरैलाई अप्रत्याशित लागेको थियो ।
प्रहरीकै अधिकारीहरुका अनुसार महाशाखाको नेतृत्वमा रहँदा कुवँरले आँट गरेको भए नक्कली भुटानी प्रकरणको पर्दाफास सोही समयमा हुन्थ्यो । तर उनले त्यो सुचना आफु आईजीपी बन्न प्रयोग गरे ।
उनीपछि महाशाखाको नेतृत्वमा आए एसएसपी मनोज केसीको नेतृत्वमा नक्कली भुटानी प्रकरणको फाइल खोलियो ०७९ चैतमा । केसी नेतृत्वको महाशाखाले ०७९ चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई काठमाडौंबाट पक्राउ गर्यो । अनुसन्धान अगाडी बढाउँदै जाँदा खुल्यो नक्कली भुटानी प्रकरणको रहस्य । एसएसपी हुँदा कुवँरले लुकाएको फाइल एसएसपी केसीले खोलेका थिए ।
कुवँरले महाशाखाको एसएसपी हुँदा नक्कली शरणार्थी प्रकरणको उजुरी र अन्य विवरण मात्रै लुकाएनन् त्यसको सुचना देउवा निवासमा निरन्तर पु¥याएको आरोप छ ।
उनले त्यो समयमा उजुरीमाथि अनुसन्धान गरेको भए तत्कालीन समयमै बालकृष्ण खाण, उनकी पत्नी मञ्जु, शेरबहादुर देउवा पत्नी आरजु अनुसन्धानमा तानिने प्रहरीकै अधिकारीहरु बताउँछन् ।
कुवर सोहि प्रकरणपछि १२ नम्बर एसएसपीबाट सोझै १ नम्वरमा डिआइजीमा बढुवा हुँदै आइजीपी भएका थिए । आरजु लगायतको फाइल लुकाएपछि उनी उनीहरुकै आर्सीवादमा आईजीपी नियुक्त हुन सफल भएका थिए ।
सो सुचना हालका गृहमन्त्री रवि लामिछानेले पाएपछि उनी जसरी पनि आईजीपी हटाउँछु भन्दै लागेका छन् ।
कुँवर बढुवा भएर अपराध महाशाखाबाट बाहिरिएपछि नयाँ कार्यालय प्रमुखका रुपमा आएका एसएसपी मनोज केसीले अनुसन्धान अघि बढाउँदै ०७९ चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको थियो । १५ चैतमा सागर थुलुङ राई र २९ चैतमा सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा अन्यको संलग्नताको विषय बाहिर आएको हो ।
को हुन् वास्तविक भुटानी शरणार्थी ?
सन् १९९० को समयमा भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो ।
देश फर्किने पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू स्वदेश फर्काउन नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणमा वार्ता भयो । तर वार्ताले समाधान दिन नसकेपछि उनीहरुले तेस्रो देश पुनर्वास रोजे ।
सोही योजनाअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, द नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भयो ।
नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी–शनिश्चरे शिविरमा बसोबास गर्दै आएका छन् ।
नेपालमा रहेका तीनै शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले अनुसूची तयार गर्न एक कार्यदल गठन गरेको थियो ।
तर सोही कार्यदलले कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको पाइएपछि यो घटनाको पर्दाफास भएको हो ।
३० जनाविरुद्ध मुद्दा दायर
०८० जेठमा प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ३० जनाविरुघ मुद्दा दायर गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको थियो ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो ।
अभियुक्तमाथि ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराध गरेको आरोप लगाइएको थियो ।
यी हुन् आरोपित
बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, ईन्द्रजित राई, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, बिक्रम भनिने गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, केशव तुलाधर, लक्ष्मी महर्जन, भक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी, प्रतीक थापा ।
आरोपित सबैजना पक्राउ परिसकेका छैनन् । जसमा १८ जना पक्राउ परेका थिए भने १२ जना फरार थिए ।
बैंकिङ कारोबार, ह्वाट्सएप म्यासेज, अडियो कुराकानी प्रमाण
अनुसन्धानमा बैंकिङ कारोबार, ह्वाट्सएप म्यासेज, अडियो कुराकानीलाई प्रमाणको रुपमा लिइएको छ । सोही क्रममा आईजीपी कुवँरको पनि एक म्यासेज बाहिरिएको थियो ।
नक्कली भुटानी प्रकरणमा आरोपितहरुले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु राणा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाण लगायतको नाम लिएका थिए । तर उनीमाथि अनुसन्धान भएन । उनीहरुमाथि अनुसन्धान नभएपछि प्रहरीको चौतर्फी आलोचना भएको थियो ।
त्यसमा आईजीपीले उनीहरुलाई बचाउन भूमिका खेलेको गृहमन्त्री लामिछानेसहित उनको टिमको आरोप छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री खाण भने धरौटी बुझाएर गत मंसिरमा छुटिसकेका छन् । पूर्वमन्त्री रायमाझी भने जेलमै छन् ।
खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाणलाई ०८० वैशाख २७ मा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका १८ र फरार १२ सहितका प्रतिवादीविरुद्ध दायर मुद्दामा गत असार १ गते थुनामा रहेका १६ लाई पुर्पक्षका लागि कारागार र २ जनालाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतबाट आदेश भएको थियो ।
उच्च अदालतले ६ जनालाई धरौटी, ४ जनालाई साधारण तारेख, पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका ९ जनालाई पुर्पक्षका लागि कारागारमै राख्ने आदेश दिएको थियो ।
शक्तिकेन्द्र धाउँदै आईजीपी
स्रोतका अनुसार आईजीपी कुवँर पछिल्लो समय तनावमा छन् । उनी पद जोगाउन शक्तिकेन्द्र धाउन थालेका छन् ।
सत्ता साझेदार दलका विभिन्न शीर्ष नेताहरुलाई उनले भेटेका छन् । यसै क्रममा कुँवरले शुक्रबार राती मात्रै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेको बताइएको छ । उनीहरुबीच झण्डै एक घण्टा लामो छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ ।
कुवँर कांग्रेस निकट मानिन्छन् । एसएसपी हुदा १२ औं बरियतामा थिए । बालकृष्ण खाण र काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुकै सहयोगले १२ औं नम्बरका कुँवर १ नम्बर डीआईजी बन्दै आईजीपी बनेका हुन् । जबकी उनी तत्कालीन समयमा आईजीपीको रेसमै थिएनन् ।
गृहमन्त्रीको रोजाईमा ज्ञवाली
त्यसो त गृहमन्त्री रवि लामिछानेले एआईजी श्याम ज्ञवालीलाई आईजीपी बनाउन चाहेका छन् ।
मन्त्रीपरिषद्बाटै आईजीपी कुवँरलाई हटाएपछि अर्को आईजीपी एआईजीमध्येबाट नियुक्त गर्र्नुपर्ने हुन्छ । सरकारले चाहेको जोसुकै एआईजीलाई आईजीपी नियुक्त गर्नसक्छ । यसमा गृहमन्त्री र प्रधानमन्त्री दुवैको निकट रहेका ज्ञवालीको सम्भावना बलियो देखिन्छ ।
रविलाई निर्वाचनमा समेत व्यावसायीमार्फत सहयोग गराएका ज्ञवाली हाल केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । उनलाई आईजीपी बनाउन र ३० वर्षे सेवा अवधी हटाउन मानवस्रोत विभागमा रहेका एआईजी भीम ढकाल समेत सक्रिय छन् । उनले पनि एमाले शीर्ष नेताहरुसँग समेत भेट गरेका छन् ।
तर पछिल्लो समय उनले एमाले अध्यक्ष ओलीलाई बारम्बार भेट्न खोजेपनि समय नपाएको बताइएको छ ।
… र यो पनि..
एआईजी ज्ञवाली र ढकालले प्रचण्ड–ओलीको जिम्मा लिएपछि ३० वर्षे हटाउन गृहसचिवको दौडधुप
प्रहरीमा ‘चेन अफ कमाण्ड’ भत्काउँदै गृहमन्त्री, आईजीपी हटाउन चलखेल