दशैको मुखमा खसीबोका बिक्री नहुँदा निराश बने किसान


बेदकोट – चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।

परशुराम नगरपालिका-८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् ।

बाख्रापालन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घर खर्च जोहो गर्न सकस परेको छ । “केही वर्षयता खसी बोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घर खर्च चलाउथ्यौँ”, जोगबुढाका किसान जिते धामीले भने , “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घर खर्च चलाउनै मुस्किल होलाजस्तो छ ।”

चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसी बोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ । “भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्”, उनले भने, “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ ।”

गत असोज ३० गते उनले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए । तीमध्ये तीन दिनसम्म दुई वटा खसी मात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् । गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामी बत्ताउँछन् ।

“खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिने गरी उधारोमा ल्याएका छन्”, उनले भने, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ ।” परशुरामबाट नौ जना किसानले एक सय ५० खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुर्‍याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उनको भनाइ छ ।

महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गरे । “अहिले भीनपा-४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसीबोका राख्ने ठाउँ छैन”, उनले भने, “त्यसैले समस्या छ, ठाउँ उपलब्ध गराए त्यसबापतको पैसा तिर्न पनि तयार थियौँ ।”

प्रतिक्रिया