प्रतिनिधिसभा बैठक बुधवारसम्मका लागि स्थगित


काठमाडाैं- प्रतिनिधिसभाको बैठक पर्सि बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी आधा घण्टाका लागि स्थगित भएकोमा फेरि शुरू हुन सकेन ।

दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका स्थगित भएको जानकारी गराएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन् । जेठ १५ गते संसद्‍मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूका कारण त्यसयता बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गरिरहेका छन् । यस्तै नेपाली कांग्रेसले पनि विपक्षी दलहरूसँग छलफल गरिरहेको छ । कांग्रेससँगको छलफलमा नेकपा (माओवादी केन्द्र) केही लचक देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति जनाएको छैन ।

प्रतिक्रिया