


पनाैतीमा मनाइँदै हिले जात्रा, आज र भोली सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक – यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको हिले जात्रा सोमबार शुरु भएको छ।
परम्पराअनुसार पहिलो दिनसाँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा शुरु भएको मानिन्छ। राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैडु पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ। साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ।
त्यसैगरी जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ। जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रूपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन्। महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबिर जात्रा गरी रथ जुधाइने गरिन्छ। लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्।
इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक भाव पनि प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाउने गरिएको थियो। विशेषतः कामक्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो। तर, पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुन्दा बोकेर कर्माचार्य (आचाजू) हरू सुस्तरी हिँड्नुपर्छ। यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ। कर्माचार्य खोला पारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ। जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ। स्थानीयले जात्रा अवधिभर प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम राखी आफ्ना पाहुना बोलाइ स्वागत सत्कारकारसाथ भोज गर्छन्। त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने चलन छ।
जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याः पुन्हीसमेत भनिएको स्थानीय बताउँछन्। जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुने मान्यता छ। तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिएकाले पनौती नगरपालिकाले मङ्गलबार र बुधबार सार्वजनिक बिदा दिएको छ।

