समानुपातिकमा नदोहोरिने निर्णयपछि एमालेका यी २ दर्जन चेलीलाई चसक्क

अश्रुपुरित नेतृलाई ‘पाँच तारे’ मा डिनर र सांगितीक कार्यक्रम


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सांगठानिक विषयमा महत्वपूर्ण निर्णय हुँदै गर्दा नेताहरुमा उत्साह थपिए पनि दुई दर्जन महिला केन्द्रीय सदस्यमा भने त्यो उत्साह देखिएन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० देखि ११ गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पेश गरेका समसामयिक राजनीतिक र सांगठानिक प्रस्तावहरु सर्बसम्मतले पारित भए । सबै प्रस्तावप्रति कसैको असहमति जनिएको थिएन, तर दुई दर्जन बढी चेलीमध्ये केहीले हिक्का छोड्दै थिए भने केहीको नजर अश्रुपुरित थियो ।

बैठकको समापन गर्दै गर्दा शनिबार दिउँसो २ बजेदेखि मन्तब्य दिन थालेका अध्यक्ष ओलीले साढे ४ बजेतिर आफैले पेश गरेको प्रस्तावको एउटा बुँदालाई स्पस्ट पार्दे भने, ‘यो पटक समानुपातिक निर्वाचन प्रणालीबाट अवसर पाउनु हुने कमरेडहरुले दोहोर्याएर सो अवसर पाउनु हुने छैन ।’ उनले अन्य पार्टीबाट आएका कमरेडहरुको हकमा त्यो लागू नहुने भनी प्रस्ताव गरे ।

ओलीको प्रस्ताव सर्बसम्मतले पास गर्न हलले ताली ठोक्यो । जुन तालीको गडगडाहटले तीन पुरुष कमरेडवाहेक वाँकी दुई दर्जन महिला कमरेडलाई चसक्कै बनायो । ओलीले प्रस्ताव गर्दै गर्दा प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने महिलाहरुको सख्या खासमा ३७ हो । १० महिला सांसदले एमाले परित्याग गरी नेकपा (एस) रोजिसकेका छन् ।

हाल प्रतिनिधिसभामा एमालेका ३० जना समानुपातिक सांसद छन् । तीमध्ये २७ जना महिला सांसद छन् । एका दुईलाई छाडेर सबै एमालेका केन्द्रीय कमिटी सदस्य हुन् । ओलीले समानुपातिक सांसदलाई कि त प्रत्यक्षमा उम्मेदवार हुने आँट गर नत्र अरु उम्मेदवारलाई सघाएर देखाउन घुमाउरो भाषामा उर्दी नै जारी गरे ।

ओलीले पेश गरेको प्रस्ताव गरेसँगै बैठक सकिएपछि निरास हुँदै हिक्का छाडेका, अश्रुपुरित र मलिन अनुहार भएका चेलीलाई खुसी बनाउन ओलीले नयाँ आईडिया फुराए र केन्द्रीय कमिटी सदस्य भएका व्यापारी तथा समानुपातिक सांसद मोतीलाल दुगढको सल्लाहमा त्यही दिन साँझ ६ बजे होटल एभरेष्टमा डिनरको लागि अनिवार्य उपस्थित हुन सूचना जारी गरियो ।

बैठकपछि केही नेतृसँग कुराकानी र फोटो खिचाएका ओलीले साँझ पौने ७ बजे होटलमा उपस्थित भएर महिला नेतृहरुसँग नाच्ने, हारमोनियम र गितार बनाउने तथा नृत्य हेर्ने काम गरे । सबै जसो महिला नेतृसँग फोटो खिचाएका ओलीले हौसला दिनको लागि पार्टीका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ र धर्मपत्नी राधिका शाक्यसँग साँझ ९ बजेसम्म बसे ।

तीजका गितहरुमा रमाइ रहेका एमाले नेतृसँग नाचेका ओलीले कलाकार तथा राष्ट्रिय सभा सदस्य कोमल ओली, नेता केशवप्रसाद बडालको गीत, कलाकार बिन्दु परियार र अन्य कलाकारको गीत सुन्ने र नृत्य अभिरुचीपूर्वक हेरेका थिए ।

यस कारणले महिला नेतृहरु निरास थिए –

पार्टीको निर्णय अनपेक्षित नभए पनि अलिक हतारमा आएजस्तो महिला नेतृहरुले महसुस गरेका थिए । खासमा एमालेबाट समानुपातिकमा चार पुरुषले मात्र अवसर पाएका थिए । तीमध्ये मुकुन्द न्यौपानेले नेकपा एस रोजिसकेका छन् भने तीन सांसद मोदी, विजय सुब्बा र मोहन वानियाँ मात्र एमालेमा छन् ।

०७४ को संघीय संसदको निर्वाचनमा एमालेले ८८ सिटमा जित हासिल गरेको थियो । तीन महिला नेतृ झापाकी पवित्रा निरौला, स्याङ्जाकी पदमा कुमारी अर्याल र काश्कीकी विद्या भट्टराईले मात्र प्रत्यक्षमा निर्वाचित भएका थिए । प्रत्यक्षमा पुरुष ८५ जना निर्वाचित भएकाले ५० प्रतिशत महिला पुर्याउन एमालेले ४१ मध्ये ३७ जना महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट रोज्नु परेको हो ।

सत्तारुढ दलहरुबीच आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयपछि प्रत्यक्षमा उठेर चुनाव जित्न नसकिएला भन्ने मनोविज्ञानका कारण एमाले चेलीहरु पार्टीको निर्णय शिरोधार्य गर्ने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्नु भन्दा राष्ट्रिय सभा ताक्ने वा यो पाँच वर्ष प्रतिक्षा गर्ने मुडमा रहेका छन् ।

पार्टी संगठनलाई सत्तारुढ गठबन्धनबाट चौतर्फी घेराबन्दी गरेका कारण प्रत्यक्षमा चुनाव लड्ने आँट हाल समानुपातिकमा रहेका सांसदमध्ये १० जनाले पनि गर्ने अवस्था छैन ।

यी नेतृ हुन्, जसलाइ एमालेले समानुपातिकमा  दाेहाेर्याउन सक्दैन –

अहिले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा सदस्य हुने नेतृहरुमा पूर्वउपसभामुख डा. शीवमाया तुम्वाहाम्फेदेखि लिएर पूर्वमन्त्री राधा ज्ञावली, थममाया थापादेखि लिएर नबिना लामासम्म रहेका छन् ।

एमाले महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य, नेता कृष्णगोपाल श्रेष्ठकी पत्नी बिना कुमारी श्रेष्ठ, रघुबीर महासेठ पत्नी जुलीकुमारी महतो, मजदुर नेतृ बिन्दा पाण्डे मात्र होइन, एमाले औपचारिक रुपमा परित्याग गरेको घोषणा गरेका बामदेव गौतम पत्नी कु.तुलसी थापा पनि एमालेकै समानुपातिक सांसद हुन् ।

हेर्नुस एमालेका प्रतिनिधिसभामा रहेका समानुपातिक महिला सांसदहरु

आशा कुमारी विक बझाङ, कुमारी मेचे झापा, कु.तुलसी थापा बर्दिया, कुमारी मेचे झापा, गोमा देवकोटा सिन्धुली, गंगा सत्गौवा चौधरी दाङ, जानकी देवी राम, जुलीकुमारी महतो धनुषा, तीर्था गौतम रुकुम, थममाया थापा म्याग्दी, नबिना लामा काभ्रे, निरुदेवी पाल कञ्चनपुर, विमला बिक बर्दिया, मनकुमारी जिसी बागलुङ, मायादेवी न्यौपाने काठमाडौं, मैनाकुमारी भण्डारी गुल्मी, राधाकुमारी ज्ञावली रुपन्देही, रेखा कुमारी रौतहट, बिनाकुमारी श्रेष्ठ काठमाडौं, बिन्दा पाण्डे काठमाडौं, विमला विश्वकर्मा झापा, विष्णु शर्मा दाङ, शान्ता चौधरी दाङ, शान्तिमाया पाख्रिन दोलखा, डा.शीवमाया तुम्वाहाम्फे मोरङ, सरिताकुमारी गिरी सप्तरी, सरिता न्यौपाने काठमाडौं, र सुजिता शाक्य काठमाडौं रहेका छन्

प्रतिक्रिया