वैशाख १७ गते नागरिक उन्मुक्ति र जनमत पार्टी मिल्ने, पार्टीको नाम ‘नागरिक जनमत’


काठमाडाैं- नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच वैशाख १७ गते औपचारिक एकता घोषणा हुने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ तथा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच पार्टी एकता सम्बन्धी सबै तयारी पूरा भएको जनाइएको छ ।

यसअघि दुवै पार्टीबीच कार्यगत एकताको उद्देश्यले मोर्चा गठन गरिएको थियो । अब भने यी दुई दल एक हुने पक्का भएको छ। नयाँ बन्ने पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।

पार्टी एकतापछि डा. सिके राउत कार्यकारी अध्यक्ष हुनेछन् । रेशम चौधरी संरक्षकका रूपमा रहनेछन् भने रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन्। पार्टीको संघीय संसदमा कूल १० सिट रहनेछ, जसमा हाल जनमत पार्टीसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ सिट छन् ।

क्षेत्रगत रूपमा पार्टीको नेतृत्व बाँडफाँड गरिने सहमति भएको छ। पूर्वी भागको कमान्ड डा. राउतले सम्हाल्नेछन् भने पश्चिमको नेतृत्व रेशम चौधरीले गर्नेछिन् ।

डा. सिके राउतले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, “धेरै राजनीतिक शक्तिहरू अहिले असहज भएका छन्, किनभने जनताको पक्षमा काम गर्ने नयाँ शक्तिशाली पार्टी उदाउने क्रममा छ ।”

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा वैशाख १७ गतेलाई “इतिहास बदल्ने घडी” भन्दै उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, “हामी मधेश र सुदूरपश्चिमको मुटुलाई जोड्दैछौं ।”

प्रतिक्रिया