कांग्रेस महाधिवेशनको मध्यमार्गी ध्रुवीकरणको केन्द्र बन्दै महामन्त्री उम्मेदवार महर


काठमाडौँ – नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति अझै निश्चित नभएको अवस्थामा पार्टी विधानअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने बहस चलिरहेको छ। यस्तै पृष्ठभूमिमा प्रभावशाली केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले महामन्त्री पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

उनको उम्मेदवारीसँगै महाधिवेशनको समयतालिका, नेतृत्वको पुस्तान्तरण र वैचारिक दिशानिर्देशनबारे नयाँ बहस सुरु भएको छ। महरलाई अहिले पार्टीभित्र सम्भावित मध्यमार्गी ध्रुवीकरणको केन्द्रको रूपमा हेरिएको छ।

महरले पार्टीको महाधिवेशन समयमै, विधानअनुसार हुनुपर्ने मागलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन्। अहिले कांग्रेसभित्र निर्धारित समयमा महाधिवेशन गर्ने वा विशेष परिस्थिति देखाउँदै समय थप्ने भन्ने विषयमा दुई धार देखिन्छन्। उनले लोकतान्त्रिक प्रतिस्पर्धाको हिस्साको रूपमा आफ्नो उम्मेदवारीलाई व्याख्या गरेका छन्।

महामन्त्री पदका लागि विगत तीन वर्षदेखि तयारी गरिरहेका महरले यस क्रममा ७५ जिल्लाको भ्रमण गरिसकेका छन्। उनले ‘मिसन महामन्त्री’ अभियानमार्फत आफ्नो प्रचार र संगठन विस्तारलाई व्यवस्थित रूपमा अगाडि बढाएका छन्।

नेविसंघको इकाइदेखि केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुखसम्मको अनुभवलाई उनले आफ्नो क्षमताको आधार मानेका छन्। ‘स्कूल अफ डेमोक्रेसी’ र ‘नीति संवाद’ कार्यक्रममार्फत उनले पार्टीको तल्लो तहमा पहुँच बढाएका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेका उनले लोकतन्त्र, विकास र अर्थनीति जस्ता विषयमा आफू स्पष्ट धारमा रहेको बताएका छन्।

महाधिवेशनका लागि उनले प्रस्तुत गरेको १४ बुँदे एजेन्डाले पार्टीमा संरचनागत, वैचारिक र कार्यशैलीगत सुधारको खाका प्रस्तुत गर्छ। ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’, प्रशिक्षणमा आधारित सदस्यता, विज्ञ समूहको गठन, बिपी विचारको युगानुकूल कार्यान्वयन, आर्थिक पारदर्शिता, युवा सशक्तिकरण, सुशासन, शिक्षा-स्वास्थ्यको पहुँच विस्तार, लगानीमैत्री वातावरण, तथा राष्ट्रिय स्वार्थमा आधारित विदेश नीतिलगायत विषय एजेन्डामा समेटिएका छन्।

यी एजेन्डाहरूले महरलाई परम्परागत गुटगत राजनीतिभन्दा फरक धारमा उभ्याएको छ। गुटभन्दा माथि उठेर मुद्दा र विचारमा आधारित प्रतिस्पर्धा गर्ने उनको प्रयासले पार्टीभित्र परिवर्तन चाहने प्रतिनिधिहरूलाई आकर्षित गरिरहेको छ।

हालसम्म महामन्त्री पदका लागि अन्य आकांक्षीहरू रहे पनि महरले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै नेतृत्व प्रतिस्पर्धाको प्रारम्भिक संकेत दिएका छन्। यसले महाधिवेशनको मिति टुंग्याउन नेतृत्वमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।

उनको उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा होइन, कांग्रेसभित्र महाधिवेशनको समयबद्धता, विधानको पालना, पुस्तान्तरण र रूपान्तरणको आवश्यकतालाई केन्द्रमा ल्याउने रणनीतिक कदमको रूपमा हेरिएको छ। मध्यमार्गी, विधिप्रति निष्ठावान् र मुद्दा-केन्द्रित धारका रूपमा महरको उपस्थितिले कांग्रेसको आन्तरिक प्रतिस्पर्धालाई अझ रोचक र विचारप्रधान बनाउने सम्भावना बलियो देखिएको छ।

प्रतिक्रिया