बहिरा समूदायको सबैभन्दा ठुलो समस्या सूचना तथा सञ्चार नै होः बहिरा महासंघ


काठमाडौं – राष्ट्रिय बहिरा महासंघले महामारी तथा प्राकृतिक विपत्तीमा बहिरा समूदायको सबैभन्दा ठूलो समस्या भनेको सूचना तथा सञ्चार रहेको जनाइएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरूले बहिरा समूदायले प्रमुख रूपमा विभिन्न महामारी तथा प्राकृतिक प्रकोपका समयमा सूचनाकै अभावमा समस्या भोग्नु पर्ने गरेको बताइएको हो ।

महासंघकी बरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेको सभापतित्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी जमुना मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव सन्तोष केसीले आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

‘महामारी तथा प्राकृतिक प्रकोपका समयमा बहिरा समुदायको समस्या तथा जोखिम एवम् पहुँचको आवश्यकता र सरोकारवालाको भूमिका’ विषयमा प्रस्तुतीकरण दिएका केसीले बहिरा समूदायले भोग्नु परेका र भोग्नु पर्ने समस्याका बारेमा स्पष्ट पारेका थिए ।

उक्त अवसरमा बहिरा समूदायका व्यक्तिहरुले विभिन्न महामारी र प्राकृतिक प्रकोपका समयमा अभिव्यक्ति दिन नसक्दा जोखिममा जिउनु पर्ने बाध्यता समेत भोग्नुपरेको जनाइएको थियो ।

कार्यक्रममा विपतका बारेमा बहिरा समूदायका लागि सरकारले सूचना तथा सञ्चारलाई प्रमुख प्राथमिकता दिई नीति तथा नियमावली बनाउनुपर्ने जनाइएको थियो । कतिपय अवस्थामा उचित र स्पष्ट सूचनाकै कारण ज्यान जोखिममा परेको र ज्यानै समेत जाने अवस्था आएको पनि जनाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मिश्रले मन्त्रालयले देशभरका अपांगता भएका व्यक्तिहरुलाई बर्गीकरण गरेर प्राथमिकता अनुसारको नीति नियम बनाउने बारेमा छलफल र कार्ययोजना बनाइरहेको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई १० किसिममा मात्र वर्गीकरण गरिए पनि त्यसअन्तर्गत अन्य प्रकारका अपांगता भएका व्यक्तिहरु रहेको पनि बताइन् । उनले सरकारले नीति निर्माणको तहमा रहेर महासंघलगायत सरोकारवालाहरुको सुझावमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रमको सभापतित्व गरेकी वाग्लेले बहिरा समूदायको प्रमुख समस्याको रुपमा सूचना तथा सञ्चारनै भएको बताउँदै सञ्चारमाध्यम र सरकारले यथासम्भव तरिकाले बहिराहरुलाई लक्षित गरि दृश्य सञ्चारमाध्यममा दोभाषेको प्रयोग गरी सूचना सम्प्रेषण गर्नुपर्ने र नेपालमा रहेका सीमित दोभाषेहरुको संख्यालाई जति सक्दो छिटो बढाउनका लागि सरकार तथा सरोकार पक्षले जोड दिनुपर्ने बताइन् । उनले नेपालमा अहिलेको अवस्थामा २० देखि २५ जना मात्र दोभाषे जनशक्ति रहेकोले त्यस संख्यालाई जतिसक्दो छिटो बढाउनु पर्ने माग समेत राखिन् ।

उक्त अवसरमा सञ्चारमाध्यमले बहिरा समूदायको हितका लागि विशेष अभियान नै चलाउनु पर्ने र महासंघले पनि त्यसका लागि पहल गर्नुपर्ने जनाइएको थियो ।

दिनेश पनेरुले सञ्चालन गरेको उक्त कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपाल र ओपन सोसाइटी फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया