आजदेखि साउदी अरब उडान भर्दै नेपाल एयरलाइन्स
काठमाडौं – नेपाल वायुसेवा निगमले आज शुक्रबारदेखि साउदी अरब उडान सुरु गर्दै छ । नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा निगमले शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको हाे ।
साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको छ । निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो ।
तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।
निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा)मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । यस शहरमा निगमले साताको दुई उडान गर्ने भएको छ ।
शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ । साउदी अरबको दमाममा भने अहिले हिमालय एयरलाइन्सले उडान गरिरहेको छ । यो मुलुकमा निगमले यसअघि चार्टर्ड उडानहरु भने गरिसकेको छ । पहिलो पटक नियमित उडान गर्न लागेको हो ।