

बुवाको ‘गुगल ड्राइभ’मा छोरीको अश्लील भिडियो भेटिएपछि… घटना नेपालकै

काठमाडौं- अमेरिकाबाट एउटा साइबर सूचनाकाे सहयाेगले नेपाल प्रहरीले एउटा गम्भीर बाल यौन शोषणको पर्दाफास गरेकाे छ । अमेरिकाको ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले नेपाल प्रहरीको साइबर ब्युरोलाई चेतावनी स्वरूप पठाएको सूचनाले चकित पार्ने घटनालाई उजागर गरेकाे हाे ।
सूचना अनुसार, नेपालमा बसोबास गर्ने एक व्यक्तिको गुगल ड्राइभमा यौन शोषणमा परेकी नाबालिकाको भिडिओ फेला परेको थियो । गम्भीर संकेत देखिएपछि साइबर ब्युरो सक्रिय बन्यो । टेक्निकल विश्लेषण गर्दै मोबाइल नम्बर, जिमेल अकाउन्टलगायत सूचना सङ्कलन गरियो । अनुसन्धानले आरोपी वीरगञ्जमा रहेको पुष्टि गर्यो र प्रहरी टोली २२ चैतमा त्यहाँ पुग्यो ।
ती नाबालिकाको यौन शोषण गर्ने व्यक्ति नजिककै थिए, उनी थिए सौतेनी बुबा । “हामीले सोचेका थिए, उनले अरूको भिडियो अपलोड गरेका होलान्, तर भिडियोमा देखिएकी बालिका आफ्नै घरकी थिइन् भन्ने कुरा पत्ता लाग्दा झस्कियौं,” जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
ती नाबालिकाको जन्मदर्तासमेत बनाइएको थिएन । ती बुवाले बयान दिने क्रममा कहिले आफ्नै छोरी भने, कहिले श्रीमतीको पुरानो विवाहबाट जन्मिएकी भन्दै पन्छिने प्रयास गरे । आमाले पनि सत्य लुकाउने प्रयास गरिन् ।
प्रहरीले तत्कालै ती नाबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । नाबालिकाको तर्फबाट उजुरी दिन कोही नआएपछि प्रहरीले आफैं जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।
अहिले आरोपी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई हिरासतमा छन् । उनीमाथि करणी सम्बन्धी मुद्दा र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ ।

