एसएमजी प्रकरणः निर्दोषलाई दोषी साबित गराउने सेनाका चार अधिकृतविरुद्ध जाहेरी!


काठमाडौं – १५ फागुनमा नेपाली सेनाका चारजना अधिकृतविरुद्ध जिल्ला सरकारी वकिल, चितवन कार्यालयमा किटानी जाहेरी परेपछि सर्वत्र चासोको विषय बनेको छ।

तत्कालिन चितवनस्थित कालीबहादुर गणका महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी परेको हो। उनीहरुविरुद्ध किटानी जाहेरी दिने व्यक्ति हुन् पूर्वसैनिक जवान लबकुमार गुरुङ।

गुरुङ तिनै व्यक्ति हुन्, जो सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा अनाहकमा ३० महिना जेल बसे। पछि निर्दोष साबित भए, २०७८ भदौ १८ गते भरतपुर कारागारबाट रिहा भए।

गुरुङलाई अनाहमा जेल पुर्याउनेमा तिनै चारजना अधिकृतको हात रहेको भन्दै किटानी जाहेरी परेको हो। गुरुङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर गणमा कार्यरत उनीहरुविरूद्ध किटानी जाहेरी दिएका हुन्।

गुरूङले आफूलाई चरम यातना दिएर जबर्जस्ती दोषी साबित गराएको भन्दै न्यायका लागि सोही गणमा कार्यरत सैनिक अधिकृतहरूविरूद्ध किटानी जाहेरी दर्ता गराएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए।

गणको सैनिक हिरासतभित्र रहँदा मानसिक र शारीरिक यातना दिएर जबर्जस्ती आफूलाई दोषी कसुर गर्न लगाएको गुरुङले दिएको जाहेरीमा उल्लेख छ।

त्यस्तै आफूलाई पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरिएको, कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइएको किटानी जाहेरीमा उल्लेख गरिएको गुरुङले बताए।

‘अनुसन्धानको क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट र्खुानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइएको कुरा पनि जाहेरीमा उल्लेख गरेको छु,’ गुरुङले भने।

त्यस्तै कसुर स्वीकार नगरे आफ्नो श्रीमतीलाई भारतको बम्बई लगेर बेचिदिन्छु र त्यही पैसाले हराएको हतियार किन्छु भनेर धम्क्याएको समेत अनलाइनन्यु७को सम्पर्कमा आएका गुरुङले बताए।

सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी दिएपनि श्रीमतीलाई मुम्बईमा लगेर बेचिदिन्छु भन्ने उनीहरुविरुद्ध मानव अधिकार आयोगदेखि प्रहरीको मानव बेचबिखन ब्यूरोमा समेत उजुरी गर्ने उनले बताए।

पूर्वसैनिक जवान गुरुङको श्रीमतीलाई मुम्बईमा लगेर बेच्न खोज्ने कर्नेल गिरी, मेजर श्रेष्ठ, क्याप्टेनद्वय भट्टराई र बिष्टलाई मानव बेचबिखनमा समेत अनुसन्धान गरिनुपर्ने भन्दै माग उठेको छ।

निर्दोष व्यक्तिलाई दोषी साबित गरी कारबाही गराएर मानहानि गरेको भन्दै उनीहरुलाई हदैसम्म कारबाही र क्षतिपूर्तिको समेत माग गरेका गुरुङ न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियालाई लिएर सरकारी वकिलको कार्यालय पुगेका थिए।

गुरुङले दिएको जाहेरीलाई सम्बन्धित गणमा पठाइएको न्यायाधिवक्ता खत्रीले बताए।

०००
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हँडिया स्थायी घर भएका गुरूङलाई ‘केआर १००७९३’ एसएमजी चोरी गरेको अभियोगमा २०७५ पुस २ गते हिरासतमा राखिएको थियो। उनीसँगै सिपाही सरोज तामाङ र चुबी गुरूङलाई पनि सोही अभियोगमा हिरासतमा राखिएको थियो।

समरी अदालतबाट कारागार चलान भएका गुरुङलाई १० र सरोजलाई ७ वर्ष जेल सजाय तोकिएको थियो। चुबीलाई भने सेवाबाटै बर्खास्त गरिएको थियो। कालीबहादुर गणबाट हराएको हतियार अर्कै व्यक्तिले चोरी गरेको खुलेपछि उनीहरूले सफाइ पाएका हुन्।

काठमाडौंको दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ–१०, धादिङका भरत गुरूङको हत्या अनुसन्धान क्रममा उक्त हतियार सोही गणका गंगाधर ढकालले चोरी गरेको पाइएपछि उनीहरु रिहा भएका हुन्।

गत साउन ७ गते बिहान भरतपुर–१७ स्थित नालामा गोली लागेको अवस्थामा गुरूङको शव फेला परेको थियो। भरतको हत्या आरोपमा चितवन प्रहरीले ढकाललाई भरतपुर महानगरपालिकाको चनौली बजारबाट पक्राउ गरेर अनुसन्धान गर्दा हत्यामा ‘केआर १००७९३’ एसएमजी नै प्रयोग भएको देखिएको थियो।

हत्या आरोप लागेका गंगाधर २५ वर्ष कैद सजाय पाएर हाल कारागारमा छन्। लवकुमार भने २०७८ पुस १ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएर बसेका भन् भने उनीसँगै छुटेका तामाङ गणमै कार्यरत छन्।

प्रतिक्रिया