लाइफलाइन डोरी चुँडिएपछि डुबेका सशस्त्र गोताखोर


काठमाडाैं- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा मनसुनजन्य विपद् पूर्वतयारी अभ्यासका क्रममा दुई जना सशस्त्र प्रहरी गोताखोरको ज्यान गएको छ। सशस्त्र प्रहरी बलका अनुसार मृतकमा दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा कार्यरत हरदेव राजवंशी र छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद रहेका छन्।

बिहीबार दिउँसो अभ्यासका क्रममा सप्तकोसीमा डुबेर बेपत्ता भएका दुवैजनामध्ये राजवंशीको शव शुक्रबार कोसी ब्यारेजभन्दा करिब तीन किलोमिटर तल फेला परेको थियो भने साउदको शव आइतबार बिहान कोसी ब्यारेजको ५५ नम्बर ढोकानजिक करिब २५ मिटर गहिराइबाट निकालिएको हो। खोजीमा तीनजना डीएसपीको नेतृत्वमा ११ गोताखोरसहित ६५ जना परिचालन गरिएको थियो।

मृतक राजवंशीले स्पेसल टास्क फोर्स, विपद् व्यवस्थापन र गोताखोर तालिम लिएका थिए भने प्रशिक्षकसमेत थिए। साउदले गत वर्ष गोताखोर तालिम पूरा गरेका थिए र त्यसयता उद्धार कार्यमा सक्रिय थिए।

अभ्यासका क्रममा उनीहरू नदीभित्रबाट नफर्किएपछि खोजी सुरु गरिएको थियो। सशस्त्र प्रहरीले घटनास्थलको अवलोकन गर्दा लाइफलाइनको रूपमा प्रयोग हुने डोरी चुँडिएको र त्यसपछि अक्सिजन सिलिन्डरसमेत सतहमा आएको जनाएको छ। यसले गर्दा सम्पर्क विच्छेद भई उनीहरू डुबेका थिए।

सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार, “गोताखोरले प्रयोग गर्ने डोरी सामान्य अवस्थामा चुँडिने सम्भावना हुँदैन। तर, यसपटक अड्किएको वा चुँडिएको कारणले ज्यान गएको देखिन्छ।”

सशस्त्र प्रहरी बलले यस्तो घटना पहिलोपटक भएको भन्दै गहिरो दुःख व्यक्त गरेको छ। डीएसपी शैलेन्द्र थापाले भने, “हाम्रो संगठनका लागि यो ठूलो क्षति हो। यसरी अभ्यासकै क्रममा गोताखोरको मृत्यु पहिलो हो। हामी मर्माहत भएका छौं।”

शनिबार दुई प्रदेशका मुख्यमन्त्री तथा सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको उपस्थितिमा हुने डेमो अभ्यासको तयारीका क्रममा गोताखोर टोली अभ्यास गरिरहेको थियो। तर, मध्याह्न ३ बजेतिर दु:खद दुर्घटना भयो।

प्रतिक्रिया