


नेपालमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया

काठमाडौँ- नेपालमा पहिलोपटक ट्रान्सजेन्डर (पारलैंगिक) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्वक सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै मेल टु फिमेल सेक्स चेन्ज अपरेसन पहिलोपटक नेपालमै सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा गरिएको यस शल्यक्रियामा पुरुषको लिंगमा रहेका तन्तुहरूको प्रयोग गरी महिलाको यौनअंग पुनर्निर्माण गरिएको हो। यसबाट सम्बन्धित व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।’
शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका शल्यक्रिया गरेको थियो। त्यही क्रममा नेपालकै पहिलो सेक्स चेन्ज अपरेसन सफलतापूर्वक सम्पन्न गरिएको हो।

