१९ वर्षे अफगान युवतीको हृदयविदारक पत्र: साथीलाई जस्तै मलाई पनि तालिबानले लाने हुन् कि !


काबुल – गत अगस्ट १५ देखि अफगानिस्तान तालिबान संगठनको नियन्त्रणमा छ । तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेकै दिन त्यहाँका राष्ट्रपति असरफ गनी देशै छाडेर भागिसकेका छन् भने राष्ट्रपतिको भवनमा तालिबानी लडाकु बसेका छन् ।

सम्झौताअनुसार २० वर्षदेखिको युद्ध अन्त्य गर्दै गत अगस्ट ३१ अघि नै अमेरिका र बेलायतका सैनिकले पनि अफगानिस्तान छाडिसेकका छन् । अहिले त्यहाँ तालिबानले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । यसअगाडि २० वर्षअघि पनि अफगानिस्तानमा तालिबानको शासन थियो । त्यसबेला खासगरी महिलाले धेरै प्रताडना पाउनुपरेको त्यहाँका भुक्तभोगी बताउँछन् ।

तर यसपटक तालिबानले आफू पहिलेभन्दा परिवर्तन भएको र महिलाले पनि स्वतन्त्रता र अधिकार पाउने आश्वासन दिइरहेको छ । तर व्यावहारिक रूपमा भने अहिले पनि तालिबानको स्वभाव नबदलिएको त्यहाँका स्थानीयले बताएको कुरा विभिन्न विदेशी सञ्चार माध्यमहरूमा आइरहेका छन् । यसै सन्दर्भमा भारतीय पत्रिका दैनिक भास्करले १९ वर्षीया एक अफगान युवतीको हृदयविदारक पत्र सार्वजनिक गरेको छ :

‘मेरो नाम जाहिदा हो, उमेर १९ वर्ष । म अफगानिस्तानको परयाब प्रान्तको एक सहरमा बस्छु । दुई वर्षअघि स्कुलको पढाइ पूरा गरेर विश्वविद्यालयमा भर्ना भएँ, तर अब पुनः विश्वविद्यालयमा पढ्न जान पाउँछु कि पाउँदिन थाहा छैन । अब मेरो सहर र देश तालिबानको कब्जामा छ ।

मेरा एक जना दौंतरी छिन् । एकदमै सुन्दर र हँसिली । उनलाई तालिबानले लिएर गएको भन्ने थाहा पाएँ । उनीसँग मेरो अन्तिम पटक ३ महिनाअघि कुरा भएको थियो । अहिले मलाई उनको अवस्था के छ भन्ने थाहा छैन । हामी दुईले पढाइ सकेर अफगान नागरिकका लागि केही गर्ने सपना देखेका थियौं । उनी शिक्षक बन्न चाहन्थिन्, बालबालिका पढाउन उनी मन पराउँथिन्, तर यतिबेला उनका दिन कसरी बितिरहेका छन्, मलाई थाहा छैन । थाहा छैन– हामी दुईबीच फेरि भेट हुन्छ वा हुँदैन ? म जहाँ बसिरहेकी छु, त्यो एकदमै सुन्दर क्षेत्र हो, तर सुरक्षा छैन् । हर क्षण तालिबानको त्रास छ । जबदेखि यो सहर तालिबानको कब्जामा आयो, तबदेखि मानिस त्रासमा छन् । डरले कोही पनि तालिबानको विरोधमा चुइँक्क बोल्न सक्दैनन् ।

हाम्रो सहरमा तालिबान ३ महिना पहिले आएका थिए । जुन दिन तालिबानले हाम्रो सहर कब्जा गरे, त्यो दिन म निकै डराएँ र रोएँ । मलाई आशा थियो–सरकारले तालिबानविरुद्ध लड्नेछ र उसलाई पछाडि हट्न बाध्य बनाउनेछ । तर तालिबानले एकपछि अर्काे क्षेत्र कब्जा गरे, हाम्रो चाहना चकनाचुर भए । मैले सुनेको छु– तालिबानी पुरुष पढे लेखेका केटीसँग विवाह गर्न चाहन्छन् । उनीहरू डाक्टर, शिक्षक महिलालाई आफ्ना पत्नी बनाउन चाहन्छन्, ताकि उनीहरूबाट आफ्ना सन्तान जन्माउन पाइयोस् ।

केही तालिबानी पुरुषका पहिल्यै श्रीमती छन्, तर फेरि पनि उनीहरू राम्री केटी विवाह गर्न चाहन्छन् । मलाई डर लागिरहेको छ– कतै मेरी साथीलाई जस्तै मलाई पनि लिएर जाने हुन् कि ! म सधैं यही कुराले आतंकित छु । यहाँ तालिबानका केही केटाका घरै छन् त केही पाकिस्तानबाट आएका हुन् । उनीहरू यहाँ सरकारी भवनमा बसेका छन् । आफ्ना हरेक आवश्यकताका लागि तालिबानीहरू यहींकै बासिन्दामा निर्भर छन् । उनीहरूले यहाँका हरेक घरबाट खाने/पिउने कुरा तथा पैसा लिइरहेका छन् ।

केही दिनअघि तालिबानीहरू हाम्रो घरमा आएका थिए । हामीले ३०-४० जनाका लागि खाना बनायौं । उनीहरूका लागि काबुली पुलवा बनाउनु पर्‍यो, जसका लागि मासु चाहिन्छ । उनीहरूले यहाँका घरघरमा गएर जबरजस्ती खाना बनाउन लगाउँछन् । उनीहरूका कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन् । हरेक घरको पालो आउँछ । यसअघि तालिबान सत्तामा रहेका बेला मेरी आमा जवान हुनुहुन्थ्यो । त्यसबेला उहाँले धेरै किसिमका प्रतिबन्ध देख्नु भएको थियो । तर उहाँ एकदमै साहसी महिला हुनुहुन्थ्यो । उहाँ शिक्षक बन्नुभयो । जागिर खानुभयो र घर-व्यवहार चलाउनु भयो । जब तालिबानले हरेक शिक्षकसँग पैसा उठाउन थाले तब हाम्री आमासँग पनि हजार अफगानी पैसा लिए । मेरी आमाका अनुसार उनीहरूले त्यसपछि पनि पैसा लगिरहे ।

तालिबानले यस पटक आफू बदलिएको त भनेको छ तर उनीहरूप्रति हामीलाई विश्वास छैन । मेरी आमाले तालिबानको त्यो डरलाग्दो शासन देख्नु भएको छ । उहाँ जब त्यसबेलाका कथा सुनाउनु हुन्थ्यो, तब म काँप्थे । तर त्यो समय मेरैसामु आइपुगेको छ । मेरा सारा सपना चकचनाचुर भएका छन् । म आँखा बन्द गर्छु, अँध्यारै देख्छु । आँखा खोल्छु र पनि अँध्यारै देख्छु ।

हामी उज्बेक नागरिक हौं । हाम्रो सहरमा ताजिक समुदायका मानिस पनि बस्छन् र केही हजारा समुदायका परिवार पनि छन् । हजारा समुदायप्रति तालिबानले निकै ज्यादती गरेका थिए । केही हजारा परिवार यो सहर छाडेर काबुल (अफगानिस्तानको राजधानी) गएका छन् । तालिबानका मानिस अधिकतर पश्तो समुदायका छन् र उनीहरू अन्य समुदायका मानिसविरुद्ध अत्याचार गर्छन् । धेरै क्षेत्रमा उनीहरूले उज्बेक र ताजिक समुदाका मानिसलाई आफ्नो निसाना बनाएको कुरा मैले थाहा पाएको छु ।

म अफगानिस्तानलाई धेरै माया गर्छु । म कहिले पनि यो देश छाडेर बाहिर जान चाहन्थिनँ, किनकि म सोच्थे– मेरो देश मेरा लागि आवश्यक छ, तर अहिले बाहिर जाने मौका मिल्यो भने जान्छु । तालिबानको शासनले हाम्रो जीवन बदलदिएको छ । मैले चिनेका जति पनि साथी छन्, ती सबै डराइरहेका छन् । ढोकाको ढकढकसँगै मेरो मुटु हल्लिन थाल्छ । यस्तो लाग्छ- त्यो तालिबान पो हो कि मलाई लिन आएको !

म अझै पढ्न चाहन्छु, आफ्नो देशका लागि केही गर्न चाहन्छु । तर अब म पढ्न पाउँछु कि पाउँदिन, थाहा छैन । मेरी एक बहिनी भारतमा पढिरहेकी छन् । उनी पढाइ सकेर अफगानिस्तान आउन चाहन्थिन् । तर तालिबानले देश कब्जा गरेसँगै उनले घर आउने सोच परिवर्तन गरेकी छन् ।

यहाँ लेखिएका सबै कुरा सत्य हुन्, मेरो नाम र सहरको नाम बाहेक । तालिबानको त्रासले गर्दा मैले आफ्नो नाम–ठेगाना गोप्य राख्नुपरेको हो । गत मंगलबार तालिबानी लडाकु फेरि हाम्रो घर आएका थिए । ज्यान जोगाउन हामीले आफ्नो घर र सहर छाडिदियौं । अहिले हामी अर्कै नयाँ ठाउँमा बसेका छौं, तर यहाँ हामीले कहिलेसम्म सुरक्षित रहन्छौं, कुनै ठेगान छैन।’

प्रतिक्रिया