तैपनि ‘बा’लाई सैनिक हुनुमा गर्व छ!


भनिन्छ– प्रकृतिको सबैभन्दा उत्तम आविस्कार भनेकै बुवाको मुटु हो। अचेल नेपाली राजनीतिमा ‘बा’ लभ र हेटको एउटा तर्क बनिरहेको छ। महेश बस्नेत कुशे औंसी (बुवाको मुख हेर्ने दिन)को अघिल्लो दिन राष्ट्रिय सभा गृहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ किन भनिन्छ भनेर व्याख्या गर्दै थिए। खयर, विषयबस्तु विल्कुल राजनीतिक होइन। तर, राजनीतिले ‘बा’ भन्ने शव्दलाई विवादको विषय बनाउन हुन्न। यो शव्दको ओजन, आयतन र क्षेत्रफलको सीमा हुँदैन।

पत्रकारिताका झन्डै दुई दशकको यात्रामा धेरैका ‘बा’को कथा लेखियो। कतिका तिता लेखियो, कतिका मिठा लेखियो। एउटा अखबार अथवा समाचार पोर्टलको सम्पादन मण्डलमा रहेर आफ्नै ‘बा’का बारेमा लेख्न सुरु गरियो, कति मेटियो। जति लेखे पनि समुद्रभन्दा कम हुने व्याख्यामा शव्दका ओजन कति नै हुन्छन् र? तैपनि जीवनले देखाएको बाटो र कमाएको सम्पत्ति यहि शव्द र अक्षरको गोडमेल रहेका कारण बुवाको मुख हेर्नेदिन यो कोसेली तयार पारेको छु।

बा भन्नुहुन्छ– म सैनिक हुँ, मैले जहाँ भन्छु त्यहाँ लड्छु। र, म जहाँ लड्छु त्यहाँ जित्छु।

नेपाली सेनाको भूतपूर्व कर्मचारी हुनुहुन्छ मेरा बा। मैले निजी जीवनमा ‘बुवा’ भनी सम्बोधन गर्छु। सेनामा ‘सुवेदार’ पदसम्म देशका निम्ति परदेशसम्म पुगेर लड्नुभएका मेरा बाले त्यसपछिको समयचाहिँ जीवन र समाजसँगको संघर्षको मैदानमा बिताउँदै आउनुभएको छ। अहिले पनि श्रमको खेतीपातीमा अभ्यस्त चिन्तामणि ढकाल (बुवा) भन्नुहुन्छ– पसिना सकेसम्म बगाउनुपर्छ। सक्दासम्म बगाउनुपर्छ। राम्रो र असल मान्छे बन्ने अभ्यासलाई निरन्तर जारी राख्नुपर्छ।

हामी पत्रकारिता पेशामा लागेका मानिसको परिवार बत्तीमुनीको अँध्यारो जस्तो अनुभव गर्दछन्। दुनियाँको सफलताको कथा र व्यथाका व्याख्या गर्नेले आफ्नै गन्थन किन लेख्दैन? यो उखानलाई चुनौति दिँदै मेरा बा र समस्त सेनामा रहेका हरेकका बाका निम्ति यो कोसेली अर्पण गरेको छु।

जीवन सबैका उतारचढावमा आफ्नै गति र लयमा हिँडेका हुन्छन्। कतिका कथा लेखिन्छन् कतिका नलेखिएका कथामा नै विश्राम लिन्छन्। सबैखाले संघर्षले अक्षरको साथ पाउँदैनन्, सबै अक्षर संघर्षका बिगुल फुक्न सक्षम पनि हुँदैनन्। यसर्थ, एउटा विस्मृतिको प्रसङलाई सम्झनाको तरेलीमा राख्नु उपयुक्त ठानेको छु।

माओवादी युद्धकालमा नेपाली सेनामा जागिर गरेको मानिसलाई गाउँमा बस्न कति कठिन थियो? अझ, सेनाबाट स्वेच्छिक पेन्सनयुक्त अवकाशमा निस्किएको मानिसलाई त कस्तो थियो होला? अनुभवीहरूले यसको व्याख्या गर्न सक्छन्। साना लालाबाला, स्कुले केटाकेटी भएको, आर्थिक अवस्थाले घर धान्न मुस्किल भएपछि विकल्पको सेवा खोज्नुपर्ने बाध्यता मेरा ‘बा’लाई मात्र थियो त? अनेक निम्न मध्यमवर्गीय परिवारका ‘हेड’लाई थियो।

द्वन्द्वको थिलथिलोबीच जीवनचक्रलाई घुमाउन कम्ता कठिन थियो होला र? कम्ब्याक्ट ड्रेस लगाएका केही थान मानिस हिँड्दा छापामार हुन् कि सेना हुन् भन्ने त्रासदी अर्कातिर थियो।

त्यसबेला म ८ कक्षामा पढ्दै थिएँ। अति निम्न परिवारको हाम्रो एकल सहारमा बुवालाई राजविराजस्थित आर्टिलरीमा राखिएको थियो। सेनामा दुई दशक बढी जागिर सिध्याएर परिवारको लालन पालनमा लागेका बेला माओवादीको अभियोग लगाएर अनुसन्धानका लागि लगिएको बताइयो। कारण– कसैलाई मन परेन, उसले ‘माओवादी’ भनेर सुनाइदियो। एउटा पूर्वसैनिक सैनिक हिरासतमा बस्नुपर्दाको पीडाबोधले कति सतायो होला? सञ्चारको सुविधा नै अति न्युन भएको त्यसबेलालाई अहिलेको अवस्थाको तरेलीमा विश्लेषण गर्दा भयानक लाग्न थाल्छ। जो माओवादीविरुद्ध मैदानमा थियो, उसैलाई माओवादी किन भनियो होला? मेरो किशोरावस्थातिर लम्किरहेको उमेरको मगजमा अनेक पटक ठोक्किने प्रश्न थियो त्यो।

जीवनको गतिमा कतिपय मेरो लखनी सेनाका विषयमा हुन्छन्। समालोचनात्मक विषयमा बेलामौका आज पनि बुवासँग मेरो तर्कवितर्क रहन्छ। यत्रो बर्ष काम गरेर त्यहि संगठनले दुख दिँदा पनि बुवालाई सेनाविरुद्ध वा उसका कानुनविरुद्ध बोलेको रुची लाग्दैन। तैपनि बालाई सैनिक हुनुमा गर्व छ!

माओवादी कबुल गराउन, प्रमाणित गराउनका निम्ति आर्टिलरी गणमा मलाई ललाई फकाई गरी अनेक पटक सोधिएका प्रश्नहरूमाथि अहिले प्रश्न गर्न मन लाग्छ। जीवनको गुजारालाई गति दिन भारतीय भूमीमा पुगी रोजगारी गरिरहेको मानिसलाई महिना दिनमा झिकाएर पेन्सनपट्टा समेत रोक्का गर्दा ममीले कसरी घर चलाउनुभयो होला? प्रश्नतिर घोत्लिँदा अचेल उदेक लाग्छ। दुई सातासम्म सेनाले मेरा ‘बा’लाई माओवादी नामको झूठा अभियोग प्रमाणित गर्नै सकेन। त्यसपछि हिरासतमुक्त भएका दिन हाम्रो हर्ष विभोरताको त्यो आँसुलाई स्मरणमा ल्याउँदा जीन्दगीका यात्राहरू रोचक मात्र होइन, निक्कै कठोर पनि हुनेरहेछन् भन्ने ‘रियलाइज’ हुन्छ।

ट्यामी लिएर डेरीमा दुध पुर्याउन हिँडेका द्वारिकालाई यसैगरी सेनाले लगेको थियो। उनी फर्किएका थिएनन्। उनको हत्या भएको भनी गाउँभरी भुसमा आगो सल्किएजस्तो खबर सल्किरहेको बेला हिरासतमा पुगेका मेरा ‘बा’बारे ममीको भावुकता र त्रासदीको सीमा कति थियो होला? बेलामौका यी र यस्ता प्रश्नमाथि मन्थन गर्दा ‘भाग्य र भगवान’प्रति विश्वास जागेर आउँछ।

बर्षहरू बित्दैथिए, जीन्दगीका यात्रा फरक कोणमा सुरु भएका थिए। म एसएलसी दिएर उच्च शिक्षाका लागि परिक्षानतिजाको पर्खाइमा थिएँ। मेरो त्यसबेलाको ड्युटी भनेको ‘बा’सँगै हिँड्नु थियो। नेपाली सेनामा सिकेको पेन्टिङको सीपलाई बुवाले श्रमको खोपी बनाउनुभएको थियो, घरभन्दा ६ किलोमिटर पर बजारमा। सेनाको शासन सकिएको थिएन। ठाउँ–ठाउँमा चेक पोष्ट थिए। हामी हिँड्ने बाटोमा विहान बेलुका एउटा चेकपोष्ट कट्नु पर्दथ्यो। एक दिन एउटा हवल्दारले ‘आमाचकारी’ गाली गरेको मेरै कानले सुन्यो। मनमनै सोचें,‘आखिर यो ताकत केमा छ? उसको व्यक्तित्वमा कि उसले लगाएको बर्दीमा कि, उसले बोकेको हतियारमा?’ मान्छे जस्तो मान्छे किन नहुँदो हो? ति मान्छेहरू अहिले कहाँ होलान्? प्रश्नको हुटहुटीचाहिँ अझै छ।

जीवनको गतिमा कतिपय मेरो लखनी सेनाका विषयमा हुन्छन्। समालोचनात्मक विषयमा बेलामौका आज पनि बुवासँग मेरो तर्कवितर्क रहन्छ। यत्रो बर्ष काम गरेर त्यहि संगठनले दुख दिँदा पनि बुवालाई सेनाविरुद्ध वा उसका कानुनविरुद्ध बोलेको रुची लाग्दैन। तैपनि बालाई सैनिक हुनुमा गर्व छ!

कारण पहिल्याउने प्रयत्नका अभ्यासमा केही चिजहरू जायज लाग्छन्। यदि नेपाली सेना नहुँदो हो त बुवाले दुनियाँ कसरी बुझ्नुहुने थियो त? सेनाको सुन्दरीजल गठ्ठाघरमा लामो समय बस्नुभएका बासँग म पनि बाल्यकालमा केही बर्ष बसेको थिएँ। यदि त्यस गठ्ठाघरमा फरक सीप नसिकेको भए जीवनको उत्तरार्धमा श्रमको खेती कसरी हुन्थ्यो त? मलाई लाग्छ– बालाई त्यो सैनिक हुनुमा गर्व छ, जसले सीप र स्रोतको बाटो देखायो। त्यो संस्थाप्रति उत्तरदायी मेरा बालाई त्यो कठोर व्यवाहारचाहिँ चित्त नबुझेको होला।

अमेरिकी सेनाका तत्कालिन प्रमुख जर्ज एस प्याटर्नले भनेजस्तै बाको पनि धारणा छ– एउटा सिपाही हुनु गर्वको अवसर हो। अनुशासनसहितको एउटा राम्रो सिपाहीले आत्मसम्मान, आदर, आफ्नो संगठनमाथिको गौरव, देशको शान राख्छ। कर्तव्यमा पोख्तता, सहकर्मीसँगको भद्रता, ज्येष्ठहरूको मान राख्ने भएकाले उसमा आत्मशक्ति बलियो हुन्छ।

देश र जनताका निम्ति सिपाहीलाई गति गर्व लाग्छ, खासगरी मेरा बा र नेपाली सेनाका ति तमाम सैनिक बाहरू जसले गौरबपूर्ण इतिहास कोरेका छन्। तिनलाई नमन गर्दै बिट मार्ने क्रममा भन्छु– एउटा सिपाहीको सन्तान हुनुमा म पनि गौरवान्वित छु।

प्रतिक्रिया