

खैरहानीमा खुडा हानाहान : तीन घाइते, दुई पक्राउ

नारायणगढ – पूर्वी चितवनको खैरहानीमा मंगलबार दिउँसो दुई समूहबीच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन्। घटना खैरहानी नगरपालिका–८ स्थित ‘आहार क्याफे’ मा भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रदीप महतका अनुसार घाइते हुनेहरूमा राप्ती नगरपालिका–४ का २८ वर्षीय दिपेन्द्र सिंह गोले, राप्ती–२ का २८ वर्षीय गणेश लामा र खैरहानी–९ सिमलटाँडीका २७ वर्षीय अमृत आचार्य रहेका छन्। तीनै जनाको हातमा चोट लागेको छ र उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चार–पाँच जनाको समूहमा आएका व्यक्तिहरूले ती तीन जनामाथि खुडा प्रहार गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्ती नगरपालिका–४ भवानीपुरका २९ वर्षीय मिलन रुम्बा र विशाल लामालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

