

महिला टी–२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ ।
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा सात विकेटले पराजित भयो ।
जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो ।
हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २९ रन बनाएको थियो ।
यसअघि नेपाल र हङकङको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल दोस्रो खेलमा बहराइनसँग नौ विकेटले पराजित भएको थियो । हङकङले बहराइनसँग पनि अङ्क बाँडेको थियो ।
जितसँगै तीन खेलबाट चार अङ्क बनाएको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान खेलबाट तीन अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ ।

