

१६ कान्ड, ३१ मुद्दाका अभियुक्त ढुङ्गानालाई सीआईबीले पोर्चुगलबाट लतारेर ल्यायोे
बैंकलाई दुई करोड चुना लगाएका मुख्य अभियुक्त हिरासतमा, अपराध गरेर विदेशिन्छु भन्नेलाई पानीमुनी लुके पनि छाड्दैन नेपाल प्रहरी

काठमाडौं– १६ कान्ड मच्चाएर ३१ मुद्दाका मुख्य अभियुक्त रहेका केदार ढुंगानालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पोर्चुगलबाट लतारेर शनिबार काठमाडौं ल्याएको छ।
ढुंगानालो गाडीका नक्कली विवरण पेस गरी बैंकिङ ठगीमा कम्तिमा २ करोडभन्दा बढीको नोक्सानी गराएका थिए। उनले एउटा गिरोह नै परिचालन गरी यस्तो ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।
उनलाई सहयोग गर्ने र यस प्रकरणमा प्रत्यक्ष र परोक्ष रुपमा सामेलद भएका व्यक्तिलाई यसअघि नै पक्राउ गरी नियन्त्रणमा राखिएको छ।
काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस–४ र हालको भुम्लु गाउँपालिका–१ का ढुंगाना भने पक्राउ पर्ने डरले भागेर पोर्चुगल पुगेका थिए। तर, पोर्चुगलमा पनि उनी नेपाल प्रहरीबाट सुरक्षित भएर लुक्छु भन्ने धेय पूरा भएन।
ढुंगानाको मुख्य योजनामा तत्कालीन इनडीइपी डेभलपमेण्ट अर्थात् हालको देवः विकास बैंकसहित व्यक्तिलाई ठगी गरेको उजुरी थियो भने जिल्ला अदालत ललितपुरको फरार अभियुक्तका रुपमा रहेका थिए।
सीआईबीले २०७५ मा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैंक र देव विकास बैंक ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका–१ का नारायणबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको थियो।
पर्साको वीरगञ्ज घर भई ललितपुरको जुवागल बस्ने नरेशमान सिंह (बैंकका भ्यालुएटर) र काठमाडौँ महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैंकका तत्कालीन शाखा प्रबन्धक)लाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। ढुंगाना भने फरार थिए।
कसरी पक्राउ गरियो?
ढुंगानालाई सीआईबीको इन्टरपोल शाखा हेर्ने प्रहरी नायव उपरिक्षक (डीएसपी) नवीन श्रीवास्तवको टोलीले पोर्चुगलबाट समातेर ल्याएको हो। पोर्चुगल प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको थियो।
कोटेश्वरमा अटो ग्यारेज खोलेर बसेका ढुंगानाले त्यहाँ आउने गाडीका नक्कली ब्लुबुकदेखिका कागजात बनाएर बैंकमा ऋण लिने गरेका थिए। उनले यसरी १६ वटा गाडीसँग ऋण लिएको स्पष्ट देखिएको छ। ऋण लिएर केही पनि नतिरेपछि बैंकले खोजी गर्ने क्रममा ठगिएपछि सीआईबीमा उजुरी गरेको थियो।
‘फेक डकुमेन्ट र ब्लुबुक बनाएर बैंकबाट जाली हिसाबले ऋण लिएर ठगी गरेका कारण बैंकिङ कसुर र किर्तेमा समेत गरी ३१ वटा मुद्दामा ढुंगानाको संलग्नता छ’, सीआईबी प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्यामकुमार महतो भन्छन्,‘आवश्यक अनुसन्धानसहित मुद्दा चलाइनेछ।’
ग्यारेजमा बनाउन आएका गाडीका झूठा विवरण पेस गर्ने, त्यहि गाडी देखाएर ऋण लिँदै बैंकलाई ठगी गर्दै आएका थिए। बैंकले खोजीनीति गर्ने क्रममा ऋण लिएका गाडीधनी र असली कागजात अरुकै भएको पाएपछि ढुङ्गानाविरुद्ध उजुरी भएको थियो।
उनीविरुद्ध १० वटा लिखत सम्बन्धी मुद्दा जिल्ला अदालत ललितपुर, ५ वटा जिल्ला अदालत काठमाडौं र १६ वटा उच्च अदालत पाटनमा रहेका छन्। जिल्ला अदालतल ललितपुरको मात्र फैसलाका आधारमा प्रहरीले पक्राउ गरेको हो, अन्यको हुन बाँकी छ।
सीआईबीमा उजुरी परेपछि उनको खोजीनीति गर्दा प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई)मा भएको पत्तो लगाएको थियो। ‘त्यसबेला डिफ्युजन नोटिस जारी भयो। खोजी गर्दै जाँदा पोर्चुगलमा रहेको पत्तो पाएपछि इन्टरपोल शाखाले रेडकर्नर नोटिस जारी गरेको हो’, एसपी महतो भन्छन्।
ढुंगानाले पोर्चुगलमा रेमिट्यान्स कम्पनीका लागि निवेदन दिएपछि उनको ठेगाना पत्ता लागेको थियो। सीआईबीले लगत्तै पोर्चुगल प्रहरीसँग समन्वय गरेपछि ढुंगाना पक्राउ गरिएको थियो। ‘ठगी गरेर कोही पनि भाग्छु भन्ने नसोचे हुन्छ, शनिबार हामीले ल्याएका छौं, छानबिन जारी छ’, सीआईबी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) धीरजप्रताप सिंह भन्छन्,‘अपराध, आर्थिक अपराध गर्नेलाई छुट हुने त कुरा परै जाओस् अनुसन्धान तिव्रताका साथ हुनेछ।’
नेपाल प्रहरीले जस्तासुकै अपराध गरेर विदेशमा लुक्छु भन्नेका लागि ढुंगाना प्रकरण एउटा खरो चेतावनीका रुपमा देखा परेको छन्। नेपालमा अपराध गरी विदेश भागेका धेरै प्रहरीको निगरानीमा रहेको सीआईबीले जनाएको छ।

