

आईजी थापाका ‘ब्याची’ एसएसपी चौधरी बढुवामा रोकिनुको कारण यस्तो हुन सक्छ
थारुको छोरो भएकै कारण बढुवामा पछि परेका हुन् त?

काठमाडौं – आगामी १० असारमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को ५५ वर्षे उमेरहद कारण दिलिप कुमार चौधरी अवकाशमा जान लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल एसएसपी चौधरी नेपाल लागु औषध नियन्त्रण ब्यूरो (एनसीबी)मा कार्यरत छन्।
प्रहरी उपरीक्षक (एसपी) मा एक नम्बर चौधरी एसएसपीमै ‘रिटायर्ड’ हुन लागेको समाचार अनलाइनन्यू७ ले प्रकाशित गरेपछि अनेकन टिकाटिप्पणी हुन थालेका छन्। उनलाई धेरैले थारुको छोरो भएकै कारण विभेदमै पारिएको भनिएको छ।
प्रहरीमा जातीय विभेद छ कि राजनीतिक कारण? यो पनि खुट्याउने कोशिश गरिएको छ।
फौजी संगठन भए पनि प्रहरीमा जातीय भन्दा पनि राजनीतिक कारण बढी जिम्मेवार हुने देखिएको छ। तैपनि सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियामा भने जातीय कारणलाई उल्लेख गरिएको छ। यद्यपि, यसका राजनीतिक कारण पनि खुलाईको छ।
वास्तवमा संगठनले थारुकै छोरा भएको कारण चौधरीलाई अन्यायमा पारेको हो त? यस विषयमा अनलाइनन्यू७को फेसबुक पेजमा गएर जगदिश यादवले कमेन्ट गरेका छन्, ‘र यो मधेसी वा चौधरी भएकै कारणले यस्तो विभेदको सिकार भयो, भन्ने बुझ्न कसैलाई अप्ठ्यारो नलाग्ला!’
यस्तै यादवको कमेन्टमा कृष्णनन्द भट्टले चौधरी वा मधेसी भएको कारण पक्कै होइन भन्दै जवाफ फर्काएका छन्। ‘हजुर चौधरी वा मधेसी भएको कारण त पक्कै होइन। एसपीमा बढुवा हुँदा त १ नम्बरमा भएनि। पावरको कुरा हो। प्रहरीमा काजीको छोरा पाजी र पाजीको छोरा काजी हुन्छ। विजय कुमार गच्छदारको पावर कम भएको बुझ्ने हो कि?’, उनले यादवलाई जवाफ फर्काएका छन्।
त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ता श्याम गुरुङले समेत चौधरीलाई थारुको छोरा भएकै कारण विभेदमा पारिएको बताएका छन्। यस्ता अब्बल राष्ट्र सेवकको कसले उचित मूल्याकंन गर्ने? भन्दै प्रश्न गरेका छन्। प्रायजसो कमेन्टमा चौधरीलाई अन्याय भएको बताइएको छ।
राम अवतार चौधरीले कमेन्टमा लेखेका छन्, ‘नेताहरुले चौधरी तथा थारुहरुमाथि प्रमोशन हुन नै दिन्न, जहाँ पनि निजामति होस् या प्रहरी, नेपाली सेना होस् बाहुन तथा क्षेत्रीले माथि पदमा बढुवा हुन दिन्न। यो कुरा १०० प्रतिशत सत्य हो।’
प्रहरी संगठनमा कामको मूल्यांकनको आधारमा बढुवा हुने गर्छ। चौधरीले महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुखको जिम्मेवारी सम्हाल्दा राम्रै काम गरेको संगठनभित्रै चर्चा छ। ‘लो प्रोफाइलमा बसेर काम गर्न रुचाउँछन्। मान्छे उहाँ ठिकठिकै हो,’ चौधरीलाई नजिकबाट चिन्नेहरु भन्छन्।
‘यसरी जातकै आधारमा संगठनले चौधरीलाई अन्याय गरेको हो भने त्यो सरासर गलत हो,’ एक पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) भन्छन्, ‘उहाँको कामको मूल्याकंन संगठन प्रमुखले गर्ने हो। काम राम्रो हुँदा हुँदै पनि जातीको आधारमा गएर प्रमोसन नदिनु चाहिँ उहाँप्रति अन्याय भएकै हो।’
चौधरी बढुवामा पछि पर्नुको कारण जातीय मात्र नभएर अन्य कारण पनि हुनसक्छ। राजनीतिक शक्तिको आडमा चौधरीलाई एसएसपीबाट डिआईजी बढुवामा रोक लगाइएको त होइन? संगठन प्रमुख निरिह बन्दा चौधरीलाई अन्याय भएको त होइन?
गच्छादारको जोड, भगवतीको रोक!
२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विजय कुमार गच्छदार र नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट भगवती चौधरी चुनावी मैदानमा थिए। त्यतिबेला मैदानमा होमिएका गच्छदारले चुनाव जिते। चुनावताका नेपाली कांग्रेसकै सरकार थियो।
जतिबेला सुनसरी प्रहरी प्रमुख थिए, एसपी विद्यानन्द माझी। चौधरी त्यतिबेला दाङमा कार्यरत थिए। दिलिप चौधरीलाई गच्छदार निकट मानिन्छ। गच्छदारकै आडमा दिलिप चौधरी एसपी बढुवामा एक नम्बरमा परेको कतिपयको भनाइ छ।
चुनावी गठबन्धनपछि केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो, २०७४ फागुन ३ गते। त्यसपछि गठबन्धनकी भगवती चौधरीले एसपी दिलिप चौधरीको कारणले आफू चुनावमा पराजित भएको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै गुनासो पोखेको बताइएको छ।
‘त्यतिबेला मलाई चुनावमा हराउने मुख्य भूमिका दिलिप चौधरीले नै खेलेको हो। उसको गच्छदारसँग राम्रो सम्बन्ध हो। दिलिपले भनेपछि सुनसरी प्रहरी प्रमुख माझीले समेत गच्छदारलाई सहयोग गर्यो, मलाई असहयोग गर्यो,’ भगवती चौधरीले प्रधानमन्त्रीसमक्ष भनेकी थिइन्।
कतै यहि विषयलाई लिएर प्रधानमन्त्री ओलीआफैंले दिलिप चौधरीलाई बढुवा गर्न नचाहेका त होइनन्? स्रोतका अनुसार भगवतीको गुनासोपछि प्रधानमन्त्री ओली दिलिपसँग रुष्ट बने। त्यतिबेलाको रिस फेर्दै प्रधानमन्त्री ओलीको दबाबमा संगठन प्रमुख निरिह बनेको स्रोत बताउँछ।
प्रधानमन्त्रीको दबाबमा संगठन प्रमुखले दिलिप चौधरीको विषयमा चासो नदिएको आरोप छ। प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षेत्रीका ब्याची हुन् एसएसपी चौधरी। ब्याचमेट क्षेत्री संगठन प्रमुख भएर नेतृत्व हाँकिरहँदा चौधरी एसएसपीबाटै रिटायर्ड हुन लागेपछि नेतृत्वप्रति भावी पुस्ताले के अपेक्षा गर्नु?
प्रहरीमा डिआईजी बढुवाको लागि गृहसचिवको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको हुन्छ। जसमा सदस्य आईजी क्षेत्री हुन्छन् भने प्रशासन हेर्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरजबहादुर शाही सदस्य सचिव रहन्छन्।
आईजी क्षेत्री र सदस्य सचिव शाहीले प्रधानमन्त्री ओलीको कुरालाई डिफेन्स गर्न नसक्दा चौधरीलाई अन्याय भएको हुनसक्छ। दिलिप चौधरीमाथि भएको अन्यायबारे संगठन प्रमुख किन बोलेनन्? अहिले यो प्रश्न पनि उब्जिएको छ।
क्षेत्री आईजी भएपछि १३ पुस २०७७ मा नौ जना एसएसपी डिआईजी बढुवाको लागि सिफारिस भए। त्यतिबेला चौधरी ३ नम्बरमा थिए। तर, आईजीपी क्षेत्रीले चौधरीलाई अन्याय भएको कुरा बोल्न नसकेपछि उनी बढुवामा छुटे।
यो पनि पढ्नुहोस्
एसपीमा एक नम्बर चौधरी एसएसपीबाटै रिटायर्ड!
चौधरीको अहिले पनि एउटै चाहना छ अवकाशको मुखमा डिआईजी बन्ने। उनले तारावाला गाडी चढ्न पाउने हो वा होइन, थाहा छैन। शक्ति केन्द्रले रुचाएको अवस्थामा चौधरीको करिअर निर्भर छ। तर, यसको लागि सरकारले दरबन्दी थप गर्नुपर्ने हुन्छ। दरबन्दी थप नभएमा उनी एसएसपीबाटै अवकाशमा जान्छन्।
प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेपछि जो कोही पनि संगठन प्रमुख भएर नेतृत्व हाँक्ने दौडमा हुन्छन्। चौधरी पनि आईजी भएर संगठनको नेतृत्व हाँक्ने दौडमा थिए। तर, चौधरी आईजीको प्रतिस्पर्धाको त के कुरा डिआईजी पनि नभई एसएसपीबाट घर जाँदैछन्।
संगठनमा कसैको कुभलो नचाहने भनेर मिडियामा अन्तरवार्ता दिने आईजी क्षेत्रीले आफ्ना ब्याचमेटहरुको विषयमा किन चुइँक्क बोल्दैनन्? आफ्नो ब्याचमेटको लागि एक शब्द बोल्न नसक्ने आईजीपी क्षेत्रीको कारण ब्याचीहरु देवबहादुर बोगटी र किशोर कुमार दाहालले एसएसपीबाट अवकाश पाइसकेका छन्।
यस्तै एसएसपीहरु सौरभ राणा, राजेन्द्र चौधरी, शेखर कोइराला, प्रदीप कुमार श्रेष्ठ पनि आईजीपीका ब्याची हुन्। उनीहरु पनि एसएसपीबाटै घर जाने लगभग निश्चित छ।
चौधरीको ब्याचबाट वर्तमान आईजी क्षेत्री दोस्रो, निरज शाही तेस्रो, हरि पाल चौथो, प्रधुम्न कार्की पाँचौ र देवबहादुर बोहरा छैंठौं नम्बरमा एसपीमा बढुवा भएका थिए। एसपी बढुवामा चौधरीभन्दा जुनियर रहेका हरि पाल, निरज शाही, प्रधुम्न कार्की एआईजी छन्। बोहोरा पनि डिआईजी भइसकेका छन्।
जबकी चौधरीभन्दा निकै जुनियर ब्याचका विश्वराज पोखरेल एआइजी भइसकेका छन्। पोखरेल ११ चैत २०४९ को वैकल्पिक टोलीका इन्सपेक्टर हुन्। मंसिर १५ मा गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेसँगै उनले क्षेत्रीपछिको प्रहरी प्रमुख पक्का गरेका छन्।
सिनियर टिमका अधिकृत डिआईजी र एसएसपी रहे पनि सरकारले जुनियर ब्याचका पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेपछि चौतर्फी आलोचना भएको थियो।
त्यस्तै चौधरीभन्दा जुनियर ब्याचका अरु थुप्रै डिआईजी पनि भइसकेका छन्। सहकुल थापा, धीरज प्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तम सुवेदी, अरुण विसी, दिवेश लोहनी, मुकुन्द आचार्य चौधरीभन्दा जुनियर भए पनि डिआईजी भइसकेर इन्चार्ज चलाइसकेका छन्।

