बरमझियाको पेडा र नेपालको वर्तमान राजनीति: स्वाद र सत्यको खोजी


बरमझियाको ‘असली बाजेको पेडा’ यो नाम सुन्नासाथ धेरैको जिब्रो रसाउँछ। यो केवल मिठाइ होइन, एक स्मृति हो, एक स्वाद हो जसले बाल्यकालदेखि बुढेसकालसम्मको यात्रामा साथ दिएको छ। तर आज त्यो नामलाई आफैंमा एक गहिरो द्विविधाको प्रतीक बनाईदिएका छन्।

६० वर्षअघि सिराहा जिल्लाको बरमझिया गाउँमा वैद्यनाथ साह, जसलाई सबैले स्नेहपूर्वक ‘बाजे’ भनेर चिन्थे, उनैले सुरु गरेको पेडा व्यवसाय आज सयौं पसलमा एउटै नामले झुण्डिएको छ ‘बरमझियाको असली बाजेको पेडा’। तर ती सबै पसलहरू एउटै परिवारका होइनन्। न त सबैले बाजेको जस्तै स्वाद दिएका छन्, न त दिन सक्छन्।

तर बजारमा दाबी भने एउटै छ—”हामी नै हो असली बरमझियाको बाजेको पेडा”। प्रचार प्रसारको यस्तो होडबाजी चलेको छ कि कतिपय ग्राहकहरू नक्कली बरमझियाको  पेडा किनेर घर फर्किन्छन्। अनि जब त्यो पेडा मुखमा हाल्छन्, तब मात्र थाहा हुन्छ यो त त्यो स्वाद होइन, जुन बाल्यकालमा बाजेको पसलमा पाइन्थ्यो।

आजको दिनमा, वैद्यनाथ बाजे आफैं पनि बरमझिया पुग्दा झुक्किन सक्छन् जस्तो भै सक्यो कुन हो त असली पेडा? कुन हो त आँफ्नै नामको साँचो उत्तराधिकारी?

राजनीतिक बजारको नक्कली पेडा !

ठ्याक्कै यस्तै अवस्था अहिले नेपालको राजनीतिमा देखिन्छ। यहाँ पनि ‘असली’ को होड छ। कुन हो त असली जनताको पार्टी? कुन हो त साँचो परिवर्तनको संवाहक? कुन हो त राष्ट्रको साँचो सेवक?

टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, भित्ते पोस्टर, र चुनावी सभाहरूमा सबैजना चिच्याइरहेका छन् “म नै हो असली नेता”, “म नै हो विकासको मसिहा”, “म नै हो जनताको सेवक”, “म नै राष्ट्रको रक्षक”।

तर यथार्थ ?

हिजो देश छाडेर विदेशमा रमाइलो जीवन बिताउनेहरू, अनि फर्किएर संगठित रूपमा ठगी गर्नेहरू, आफ्नै इतिहासलाई लत्याउने, आफ्नै देशको सम्पत्तिमा डाका हाल्नेहरू, आगजनी र लुटतन्त्रलाई परिवर्तन ठान्नेहरू, पटक–पटक सरकारी अवसर पाएर अरबौंको भ्रष्टाचार गर्नेहरू, जातीय र धार्मिक विभाजनको राजनीति खेल्नेहरू, देश टुक्र्याउने सपना देख्नेहरू—सबै अहिले ‘असली’ बन्ने होडमा छन्।

प्रचार प्रसार, महँगा विज्ञापन, झुटा आश्वासन, र भावनात्मक नाराले यस्तो धुवाँधुलो मच्चाएका छन् कि साँचो सेवकहरू छायाँमा परेका छन्।अहिलेको अबस्था हेर्दा साँचो सेवकहरू नै झुक्किने अवस्थामा पुगेका छन्।

साँचो स्वाद, साँचो नेतृत्व तर सत्य सधैं लुकेर बस्दैन।

जसरी बरमझियामा एक दुई पटक नक्कली पेडा खाएर मानिसले स्वाद र गुणस्तरबाट असली बाजेको पेडा चिने, त्यसैगरी राजनीतिमा पनि जनता अन्ततः साँचो नेतृत्व चिन्नेछन् ।क्षणिक प्रचार प्रसार र लोक रिझ्याईले एक–दुई पटक त आँफु असली हो भनेर झुक्याउन सक्छन् , तर सधैं होइन।

नक्कली पेडा खाएर पेट बिग्रिएझैं, नक्कली नेतृत्व र पार्टीले देशको भविष्य  बिगार्न सक्छन्।परिवर्तन र विकासको नाममा आगजनी र  विनाश, राष्ट्रवादको नाममा विभाजन, र जनसेवाको नाममा स्वार्थको खेती—यी सबै नक्कलीपनका लक्षणहरू हुन्।

अब सोच्नै र सोध्नैपर्छकुन हो त असली?

त्यसैले अब समय आएको छ बेलैमा बुझौं, सोधौं, चिनौं—कुन हो त असली पेडा? कुन हो त साँचो नेता? कुन हो त त्यो पार्टी जसले राष्ट्रलाई बचाउन सक्छ, सबैलाई एक बनाएर लैजान सक्छ?कस्ले न्याय  समानता स्वतन्त्रता र समुन्नति दिन सक्छ?

हामीले बुझ्नुपर्छ स्वाद, स्वास्थ्य, समय र श्रम—यी सबैको सदुपयोग तब मात्र हुन्छ, जब हामी असली कुन हो के हो चिन्छौं।

अहिले राजनीति नारा र भ्रम को खेती भएको छ तर राजनीति केवल नाराको खेल होइन, यो विश्वासको विषय हो। जस्तै पेडा केवल चिनी र दूधको मिश्रण होइन, यो परम्परा, इमानदारी र स्वादको कथा हो।

हामीले अब प्रचारमुखीहरूले छरेको  धुवाँ   धुलो र कुहिरो  हटाएर, सत्यताको गहिराइमा पुगेर असली कुन हो उचित कुन हो र दीर्धकालिन रूपमा जान सक्ने नेतृत्व र राजनीतिक पार्टी कुन हो  चिन्नु पर्छ। किनभने देशको भविष्य कुनै नक्कली मिठासले होइन, साँचो सेवाभाव, इमानदारी र दूरदृष्टिले मात्र सुरक्षित हुन्छ।

प्रतिक्रिया