सात महिनामा साढे ११ खर्बको आयात, व्यापार घाटा १० खर्ब १५ अर्ब


काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो ७ महिनमा नेपालमा कुल ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो वर्ष यही अवधिसम्ममा भएको आयातभन्दा ४२.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७७÷७८ को सोहि अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

आयात बढ्नुको प्रमुख कारण नेपालमा परनिर्भरता बढ्नुले हो । स्वदेशी उत्पादनमा ह्रास आउँदा विदेशी सामानको भर पर्नु परेको छ ।  यस अघि आयातमा कडाइ गर्न भन्दै नेपाल राष्ट्र बैंकले ४७ वस्तु आयातमा ५० देखि शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । तर, कडाइका बाबजुद पनि आयातको चाप घट्न सकेको छैन । कृषिजन्य वस्तुसँगै सुन, मोबाइल, सवारीसाधन, इलेक्ट्रोनिक पनि आयात नै गर्नुपर्छ ।

भन्सार विभागको  तथ्यांक अनुसार आयात हुने वस्तुमा पहिलो नम्बरमा डिजेल रहेको छ । ७ महिनामा ७२ अर्ब ९७ करोड रुपैयाँको डिजेल आएको छ । जब कि गत वर्षको ७ महिनामा ३९ अर्ब ७० करोडको आएको थियो । यस्तै यस अवधिमा ३९ अर्ब ६६ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएकोे विभागले बताएको छ । यस्तै यस अवधिमा ३४ अर्ब ६९ करोड रुपैयाँको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।

गत वर्ष ७ महिनामा १७ अर्ब २६ करोड रुपैयाँको ग्यास आएको थियो । ७ महिनामा ३३ अर्ब ५६ करोडको पेट्रोल, २९ अर्ब ८७ करोडको एमएस बिलेट, २९ अर्ब २२ करोडको कच्चा पाम तेल आएको छ । २८ अर्ब ३८ करोडको मोबाइल टेलिफोन र २७ अर्ब ६२ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस्तै  विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालबाट हुने निर्यात समेत अघिल्लो वर्षको तुलनामा ८८.३ प्रतिशतले बढेको छ । तर, आयातको तुलनामा निर्यातको अनुपात निकै कम छ । चालू वर्ष पहिलो ७ महिनामा कुल १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको निर्यात भएको छ । गत वर्ष यही अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँको निर्यात भएको थियो निर्यातमा तेलको हिस्सा बढी छ । पाम र भटमासको कच्चा पदार्थ ल्याएर भ्यालु एड गरेर भारततर्फ निर्यात हुने गरेको हो । कुल निर्यातको आधा हिस्सा आयातीत वस्तु ल्याएर तयारी वस्तु पठाएकाले स्वदेशी उत्पादन कम देखिएको जानकारहरु बताउछन् ।

यस आधारमा नेपालको वैदेशिक व्यापार घाटा गत वर्षको तुलनामा ३८.४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लख रुपैयाँको व्यापार घाटा रहेको थियो । पहिलो ७ महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार भने ४६.४३ प्रतिशतले बढेर १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँको पुगेको छ । गत वर्ष यही अवधिमा कुल ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख रुपैयाँको कुल वैदेशिक व्यापारको आकार रहेको थियो ।

 

प्रतिक्रिया