फुटको संघारमा जसपा, यादवविरूद्ध राईलाई उचाल्दै भट्टराई


काठमाडौं – उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजबादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ ।

पार्टीको रिक्त कार्यकारी अध्यक्षको दाबी गरिरहेका पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त पद दिन अर्का अध्यक्ष यादव तयार नभएपछि अन्य नेतालाई अघि सारेर कार्यकारी अध्यक्ष पद थप्ने विकल्प अघि सारेका छन् ।

डा.भट्टराईले आफूलाई पार्टीको कार्यकारी अध्यक्षमा स्वीकार गर्न यादव तयार नभएपछि बरिष्ठ नेता असोक राईलाई अघि सारेका हुन् । आफ्नो बैकल्पिक प्रस्तावलाई समेत अध्यक्ष यादवले अश्वीकार गरे पार्टी विभाजन गर्नेसम्मको योजनामा डा. भट्टराई अघि बढेका हुन् ।

पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्याउन नसक्ने भएपछि उनले पार्टी छाडेर अलग दल दर्ताको तयारीमा समेत लागेका छन् ।

तीन वर्षअघि मात्र उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमसँग भट्टराईले आफू नेतृत्वको नयाँशक्ति नेपाल पार्टीबीच एकीकरण गराई संघीय समाजबादी पार्टी गठन गरेका थिए ।

२०७७ बैशाख १० गते तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गरी जनता समाजबादी पार्टी निर्माण भएसँगै पार्टीमा दुई कार्यकारी अध्यक्ष थिए । राजपाबाट आएका महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) खोलेर अलग भइसकेका छन् ।

महन्थ ठाकुरसँगै आएका जसपाका धेरै नेताहरु लोकतान्त्रिक समाजबादी पार्टीतिरै लागेपछि रिक्त कार्यकारी अध्यक्षमा रहने चाहना डा. भट्टराईले राखेका थिए । पार्टीको संसदीय दल र कार्यकारिणी समितिमा समेत अल्पमतमा परेका भट्टराईलाई साथ दिने नेताको संख्या नगण्य भएपछि उनी नयाँ पार्टी गठनको तयारीमा जुटेका हुन् ।

संसदमा प्रस्तुत भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई विनासर्त स्वीकारेर अनुमोदन गर्नु पर्ने पक्षमा डा.बाबुराम भट्टराईले सार्वजनिक अभिव्यक्ति दिँदै हिँडे पनि कार्यकारी अध्यक्ष यादवले भने औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

सत्तारुढ घटकमध्ये नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीले एमसीसीलाई संशोधन नगरी पारित गर्न सकिँदैन भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिए पनि जसपा अध्यक्ष यादवले भने पार्टीले आधिकारिक निर्णय गरिनसकेको भन्दै कुनै प्रतिक्रिया नदिएका बताइन्छ ।

सदनमा पेश भएको यही एमसीसीलाई लिएर डा. भट्टराई अध्यक्ष यादबलाई दबाब दिन चाहन्छन् तर यादव उनको दबाबबाट गल्ने पक्षमा छैनन् । यादवको पक्षमा देखिएका प्रतिनिधिसभाका १४ जना सांसद पनि एमसीसी सदनबाट अनुमोदन गर्नु पर्ने पक्षमा छन् । अध्यक्ष यादव भने एमसीसीप्रति असन्तुष्ट बनेका सत्तारुढ घटक दलका नेतासँगको भेटघाटमा व्यस्त छन् ।

अध्यक्ष यादवले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग भेट र छलफल गरी एमसीसीलाई लिएर सत्तारुढ गठबन्धन नटुटोस भन्ने पक्षमा छन् । त्यसैले उनले सदनमा पेश भएको एमसीसी सहमतिबाट पारित गराउनु पर्ने भनाई राख्दै आएका छन् ।

प्रतिनिधिसभामा जसपा नेपालका १९ सांसद छन् । अधिकांस सांसद एमसीसी सदनबाट अनुमोदन गर्नु पर्ने पक्षमा छन् । तर, बामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव भने अमेरिकी अनुदान सहयोगको बिपक्षमा उभिन चाहन्छन् ।

यादब माओबादी र एससँग निकट – भट्टराइ लाेसपा र जनमतसँग

एमसीसी सदनबाट पारित गर्ने विषयलाई लिएर सत्तारढ गठबन्धन दल नेकपा माओबादी र नेकपा (एस) चिढिएर सरकारबाट हट्ने वा गठबन्धन टुट्ने हो कि भन्ने चिन्ताले यादवलाई सताएको छ ।

तर अर्का अध्यक्ष भट्टराई भने माओबादी र नेकपा एससँग गठबन्धन टुटे पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टी वा मधेशमा प्रभाव जमाउँदै आएको सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन गर्न सकिने पक्षमा छन् । यसरी यादव र भट्टराईको गठबन्धनलाई लिएर भएको बिबादले उग्र रुप लिएरपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।

एमसीसीको पक्षमा यादव खुलेर लागे पनि नलागे पनि महन्थ ठाकुर पार्टीबाट अलग भएसँगै रिक्त रहेको कार्यकारी अध्यक्षमा आफू वा असोक राईमध्ये एकलाई बनाउन तयार नभए पार्टी विभाजन गर्ने पक्षमा उभिएका छन् । त्यसको लागि भट्टराईले निर्वाचन आयोगमा ‘समावेशी लोकतान्त्रिक पार्टी दर्ताका लागि आफ्ना एक विश्वास पात्रलाई खटाई सकेका छन् ।

भट्टराईनिकट युवा फणिन्द्र देवकोटाको पहलमा सो पार्टी दर्ताको लागि निर्वाचनमा आयोगमा गएको छ । भट्टराई अर्थमन्त्री हुँदा उनको सचिवालयमा रहेका देवकोटा जसपाको केन्द्रीय कार्यालयमा कार्यरत छन् ।

निर्वाचन आयोगका अनुसार आउँदो स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताको आव्हान गरे पछि समावेशी लोकतान्त्रिक पार्टी समेत दर्ता भएको छ । दर्ताका लागि प्रस्तावित पार्टीको केन्द्रीय कमिटी २७ सदस्यीय रहेको छ । जसमा अध्यक्ष र महासचिवसहित सात जना पदाधिकारी प्रस्ताव गरिएको छ ।

प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना महिला र १६ जना पुरुष रहेका छन्। अध्यक्षमा नुवाकोटका दीपक लामिछाने, उपाध्यक्षमा रुपी श्रेष्ठ र लालबाबु प्रसाद साह र महासचिवमा सिर्जना पोखरेल रहेकी छिन् ।

भट्टराईलाई साथ नेताहरु

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कार्यकारिणी सदस्यहरु बरिष्ठ नेता असोक राई, महिन्द्र राय यादव, रामनरशे राय, नवराज सुवेदी, रहम चेम्जोङ, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, दुर्गा सोप, प्रसान्त सिंह र भक्तबहादुर शाहसहित १० जनाले साथ दिएका छन् ।

भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा माओबादी वा नेकपा एसलाई छाडेर महन्थ ठाकुरको लोसपा र सीके राउतको जनमत पार्टीसँग गठबन्धन गर्न सकिने कुरामा जोड दिँदै आएका छन् ।

भट्टराईले अध्यक्ष यादवसँग अशोक राई, राजेन्द्र श्रेष्ठ र महिन्द्र राय यादवलाई राखेर पार्टी भित्रको अन्तरबिरोध समाधान गर्न प्रयास गरेका थिए । असोक राईलाई कार्यकारी अध्यक्ष र अरु तीन अध्यक्ष क्लस्टरबाट बनाउनु पर्ने प्रस्ताव गरेका थिए । तर यादव टसको मस नभइ बारम्बार जनकपुरतिर बरालिन थालेपछि भट्टराई यतिवेला यादवको अन्तिम जवाफको पर्खाइमा छन् ।

प्रतिक्रिया