

नेपाली कांग्रेसले भन्याे- आतंकवादविरुद्धको कारबाही जायज

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमण र त्यसपछि भारत–पाकिस्तानबीच उत्पन्न तनावबारे औपचारिक धारणा सार्वजनिक गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस जहिले पनि आतंकवादविरुद्ध रहेको बताएका छन्।
उनले पहलगाम हमलापछि भारतले आतंककारी अखडामाथि गरेको कारबाहीलाई जायज ठहर गर्दै भने, “हामी जहिले पनि आतंकवादको विरुद्धमा छौं र त्यसलाई समर्थन गर्ने कुनै प्रवृत्तिलाई स्वीकार गर्दैनौं।”
महतले निहत्था नागरिकमाथि पाकिस्तानबाट भएको जवाफी कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले तनाव फुलस्केल युद्धमा परिणत नहोस् भन्ने कांग्रेसको अपेक्षा रहेको स्पष्ट पारे।
“हामी भारत–पाकिस्तानबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा छौं,” उनले भने, “आतंकवादप्रति कडा धारणा राख्दै हामी त्यसलाई निरुत्साहित गर्न प्रतिबद्ध छौं।”

