

नीति तथा कार्यक्रम पास गर्न एमाले सांसदहरूलाई ह्विप

काठमाडौं – सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न पार्टीका सांसदहरूलाई ह्विप लगाएको छ ।
एमालेका मुख्य सचेतक महेशकुमार बर्तोलाले ह्विप जारी गरेका छन् । यही वैशाख २८ गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
त्यसदिन सभामा अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन एमालेले ह्विप लगाएको हो ।
‘नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ’ पत्रमा उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जसमाथि संसद्को दुवै सदनमा छलफल चलिरहेको छ ।

