न्युजिल्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी


काठमाडाैं- न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यो प्रस्ताव सरकारको औपचारिक कार्यसूचीमा परेको पुष्टि गर्दै, बालबालिकालाई अनलाइन धम्की, लत र हानिकारक सामग्रीबाट जोगाउने उद्देश्य रहेको बताएका छन्।

उक्त प्रस्तावअनुसार शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले यस अभियानको नेतृत्व गर्नेछिन्। नेशनल पार्टी नेतृत्वको तीनदलीय गठबन्धन सरकारले उमेर हदबन्दी लागू गर्न सदस्य विधेयक समेत संसदमा पेश गरिसकेको छ। प्रस्तावलाई आवश्यक समर्थन प्राप्त भएमा सन् २०२६ को आमनिर्वाचनअघि नै नयाँ कानुन लागू गर्न सकिने शिक्षामन्त्री स्ट्यानफोर्डले रेडियो न्युजिल्यान्डसँगको कुराकानीमा जानकारी दिइन्।

यसअघि, अस्ट्रेलियाले पनि यस्तै किसिमको कानून पारित गर्दै १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा खाता खोल्न प्रतिबन्ध लगाइसकेको छ। बेलायत, युरोपेली संघका सदस्य राष्ट्रहरू, क्यानडा र केही अमेरिकी राज्यहरूले समेत यस्ता नीतिहरूको मूल्याङ्कन गरिरहेका छन्।

प्रतिक्रिया