

राजसंस्था पुनःस्थापना गर्न आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं – राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको नेतृत्वमा गठित जनआन्दोलन समितिले उपत्यकामा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले सोमबार उपत्यकास्तरीय सबै राजसंस्थापक्षधर दल र अभियानहरूको बैठक बस्ने जानकारी दिएको छ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आगामी ६ जेठमा राजसंस्थापक्षधर प्रबुद्ध व्यक्तिहरूको भेला हुने तय भएको छ। त्यसपछि ८, ९, १० र ११ जेठमा साँखुबाट जनजागरण अभियान सुरु हुने र चाँगुनारायणमा समापन गर्ने कार्यक्रम रहेको जनआन्दोलन समितिका नेता जनकराज पाठकले बताए। उनले भने, “अभियानका क्रममा विभिन्न स्थानमा कोणसभा गरिनेछ।”
समितिले १३ जेठमा काठमाडौंमा बृहत् युवा भेला आयोजना गर्ने र १५ जेठदेखि उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलनको कार्यक्रम तय गरेको छ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, जनआन्दोलन समितिका सदस्य एवं राप्रपा नेताहरू डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, राजेन्द्र गुरुङ, राप्रपा नेपालका नेताहरू राजीव पराजुली, राजाराम बर्तौला, राष्ट्रिय शक्तिका विराज विष्ट, श्याम केसीलगायतका नेताहरू सहभागी थिए।
पण्डित रामकृष्ण उपाध्याय, नेपालका लागि नेपाली, नागरिक बचाउ अभियान, देशभक्त अभियान, मातृभूमि नेपाल, विश्वहिन्दु महासंघ, सनातन युवामञ्च लगायतका संस्थाहरूको उपस्थिति पनि रहेको थियो।

