चिनियाँ सरकारलाई टाउको दुखाई बन्दैछ वयस्कको मोटोपन


बेइजिङ(एजेन्सी)– चीनको एक आधिकारिक रिपोर्ट अनुसार चीनमा वयस्कहरुको जनसंख्याको आधा अर्थात् ५० करोड भन्दा बढी वयस्कहरु बढी वजनका छन् । सन् २००२ पछि यो आँकडामा निकै उछाल नै आएको छ । त्यो समयमा यहाँका २९ प्रतिशत मात्र वयस्कहरु बढी वजनका थिए ।

हालैको दशकमा चीनमा तिब्र रुपमा भएको आर्थिक उन्नतीका कारण मानिसको जीवनशैली, खानपिन र व्यायामको बानीमा परिवर्तन आएको छ । गत अक्टोबरमा चीन सरकारले मोटोपनलाई घटाउनका लागि योजना ल्याउने बताएका थियो । मोटोपनका कारण कैयौं किसिमका रोगको खतरा बढ्दै गएका छन् । जसमा मुटुको समस्या, हृदयघात र मधुमेह प्रमुख छन् ।

मोटोपनको समस्या यसकारण पनि प्रमुख केन्द्रमा छ किनकी कोरोना महामारीसँग सम्बन्धित अध्ययनहरुमा मोटोपनले ग्रसिन व्यक्तिमा कोभिड–१९ को गम्भीर लक्षण र मृत्युको खतरा बढी देखाएको छ ।

बुधबारमात्र नेशनल हेल्थ कमिसनको रिपोर्टमा ५० प्रतिशत ज्यादा बयस्क व्यक्तिहरुलाई बढी वजनको श्रेणीमा राखिएको थियो । जसमा १६ दशमलब ४५ प्रतिशत मोटोपनको समस्याबाट गुज्रिरहेका छन् । रिपोर्टमा मानिसहरुमा शारीरिक गतिविधि कम हुनु र एक चौथाई भन्दा कम व्यक्तिमात्र हप्तामा एकपटक मात्र व्यायाम गर्ने गरेको बताइएको छ । यसबाहेक रिपोर्टमा बढ्दो मोटोपनको एक प्रमुख कारण मांसाहारी खानेकुरा बढी खानु र फलफूलको कम प्रयोग हुनु पनि मानिएको छ ।

यो वर्षको शुरुवातमै विश्व स्वास्थ्य संगठनले सन् १९७५ पछि विश्वमा मोटोपनको स्तर तीन गुणा बढी भएको र जसमा कम र मध्यम आय भएको देशको संख्या उल्लेख्य रहेको जनाएको थियो ।

संगठनको अनुमान अनुसार सन् २०१६ मा कमसेकम ४० प्रतिशत व्यक्ति ओभरवेट थिए र १३ प्रतिशत मानिसहरु मोटोपनबाट ग्रस्त थिए । कतार जस्तो सानो खाडी मुलुक पनि सबैभन्दा प्रभावित प्रभावित देश हो । जहाँको ७० प्रतिशत जनसंख्या ओभरवेटकै या मोटोपनको समस्याबाट जुधिरहेका छन् ।

प्रतिक्रिया