तीनकुने–कोटेश्वर घटनाः प्रहरी संयमित कि ‘हातमा दही जमाएर बसेको ?’


काठमाडौं– शुक्रबार राजावादी भनिएका समूहको कमाण्डर भनिएका दुर्गा प्रसाईको उग्ररुपतासँगै राजधानीको तीनकुने क्षेत्र रणमैदानमा परिणत भयो । पूर्वनिर्धारित कार्यक्रमअनुसार राजावादी भनिएका समूह नियन्त्रणबाहिर गएपछि एकाएक भौतिक संरचनामा आक्रमण हुन पुग्यो ।

दुर्गा प्रसाईले आफैंले सवारी हाँकेर प्रहरीलाई ‘मा …ने’ जस्ता अपशब्द प्रयोग गर्दै प्रहरीको घेरा तोडे । नेतृत्व गर्नेले प्रदर्शनकारीलाई नियन्त्रण गर्नुको सट्टा आफैं उग्ररुपमा प्रस्तुत हुँदा प्रहरी आवश्यकभन्दा बढी संयमित बनेको कि हातमा दही जमेको भन्ने आशंका पैदा भयो ।

प्रहरीको घेरा तोड्ने क्रममा प्रसाईंले गाडीभित्रैबाट बाहिरको भिडलाई उत्तेजित बनाउँदै जर्बजस्ती गरेको सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छाइरहेको भिडियोमा देखिएको छ । प्रसाईंको कमाण्डमा प्रदर्शन भन्ने बित्तिकै उग्ररुप हुनसक्छ भन्ने प्रहरीले आंकलन गर्न नसक्दा स्थानीयका घरका साथै एकीकृत समाजवादी पार्टी कार्यालयमाथि हमला हुन पुग्यो ।

सुरक्षाकर्मी आवश्यकभन्दा बढी संयमित भएको सामाजिक सञ्जालमा देखिएका भिडियोमा देख्न सकिन्छ । यदि प्रहरीको घेरा तोड्ने क्रममा प्रहरीमाथि नै हातपात गरेपछि दुर्गा सवार गाडीको टायरमा सम्म भएपनि गोली हान्ने आदेश दिएको भए उनले प्रहरीको घेरा तोड्न सक्ने थिएनन् होला । र, आन्दोलनकारी यतिसम्म उग्र हुने थिएनन् होला । कोटेश्वरबाटै सार्वजनिक सवारीलाई डाइभर्ट गरेको प्रहरीले प्रसाईं चढेको गाडी बागमती पुलसम्म पुग्दासम्म नियन्त्रण गर्न नसक्नु प्रहरी आंकलन बाहिरको घटना थियो होला सायद ।

प्रहरीको उच्च अधिकारीले संयमित बन्नकै लागि आदेश दिइरहँदा सुरक्षामा खटिएकी एउटा महिला प्रहरीको टाउको फुट्दासम्म पनि संयमित बनिरहे । त्यसका लागि मैदानमा खटिएका सिपाहीहरुको प्रसंशा जति गरे पनि कम हुन्छ । स्थानीयको घर जल्दा र प्रहरीको टाउको फुट्दासम्म मुकदर्शक बनेको प्रशासनले एकीकृत समाजवादी पार्टी कार्यालयमा आगजनी भएपछि भने घटना भयावह हुने अनुमान लगायो र कर्फ्यु आदेश जारी ग¥यो ।

तीनकुनेमा स्थानीयको घर जलाएपछि उत्साहित भएका आन्दोलनकारीको भिडले भाटभटेनी सुपरमार्केटमा गरेको लुटपाट त्यो भन्दा बढी निन्दनीय छ । कुनै पनि समूहको निहित स्वार्थका लागि एउटा व्यवसायीले भोग्नुपरेको नोक्सानीको आंकलन कस्ले गर्ला ?

प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि त्यसको कडाई नहुँदा कर्फ्यु बीचमा बालकुमारी र एमाले पार्टी कार्यालय नजिकै दुई गाडी जलेका छन् ।

प्रहरीहरु गणतन्त्रवादीको आन्दोलनलाई पहिलो प्राथमिकता दिँदै उतातिर केन्द्रीत हुँदा यता राजावादीले उग्ररुप देखाएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यसका साथै बालकुमारी पुलका साथै एमाले पार्टी कार्यालय नजिकै ट्याक्सी जलेको छ ।

प्रतिक्रिया