अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते


काठमाडाैं- संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्टअनुसार स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। पीडितहरूको पहिचान अज्ञात छ। प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ । ‘लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ पार्कमा एउटा ‘अवैध कार साे’मा दुई समूहबिचको झगडा गोलीबारीमा परिणत भएको बताए । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए ।

लस क्रुसेस फायर चिफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि एल पासो लगिएको बताए । चारजना बिरामी उपचार गरेर डिस्चार्ज भइसकेका छन् । अन्य चारजनाको अवस्था भने अज्ञात रहेको उनले उल्लेख गरे । ‘यो हाम्रो समुदायको लागि दुःखद दिन हो । म समुदायलाई एकसाथ भेला हुन, बलियो र एकताबद्ध भएर उभिन र हाम्रो सहरमा भएको यो दुःखद घटनाको सामना गर्न आग्रह गर्न चाहन्छु ।’

शनिबारको इन्स्टाग्राम पोस्टमा लस क्रुसेस सिटी काउन्सिलर र मेयर प्रो टेम जोहाना बेन्कोमोले गोलीकाण्डलाई ‘हिंसाको एक जघन्य कार्य जसले हाम्रो सहरलाई शोकमा डुबाउनेछ’ भनेर वर्णन गरे । ‘पीडित र प्रभावित परिवारहरूका लागि मेरो हृदय टुटेको छ,’ उनले उल्लेख गरे । लस क्रुसेस अमेरिका–मेक्सिको सीमाबाट लगभग ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा अवस्थित छ ।

प्रतिक्रिया