

विश्वभरका तालमा अक्सिजन घटिरहेको खुलासा

बेइजिङ- शनिबार प्रकाशित एक नयाँ अध्ययनले जलवायु परिवर्तनले लामो समयदेखि तापक्रम बढाइरहेको र गर्मीको लहर तीव्र बनाउँदा विश्वभरका तालमा अक्सिजनको मात्रा घटिरहेको देखाएको छ।
अनुसन्धानकर्ताले पछिल्लो २० वर्षमा विश्वका १५ हजारभन्दा बढी तालको अध्ययन गरे। तीमध्ये धेरैमा अक्सिजनको स्तर घट्दो क्रममा रहेको पाइयो। साइन्स एडभान्सेज जर्नलमा छापिएको यो अध्ययनअनुसार विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजन कम भएको छ। समुद्र र नदीको तुलनामा तालमा अक्सिजन घट्ने दर तीव्र देखिएको छ।
अध्ययनले गर्मीको लहरले अक्सिजनको मात्रा तीव्र रूपमा घटाउने गरेको पत्ता लगायो। सामान्य तापक्रमको तुलनामा यस्तो अवस्थामा ७.७ प्रतिशतले कमी आउँछ। अनुसन्धानकर्ताको तर्क छ, यसको मुख्य कारण जलवायु परिवर्तन हो। यो परिवर्तनले पानीमा अक्सिजनको घुलनशीलता ५५ प्रतिशतसम्म घटाउँछ। त्यस्तै, तालमा पोषक तत्वको सांद्रता बढ्ने समस्या, जसलाई युट्रोफिकेशन भनिन्छ, करिब १० प्रतिशत जिम्मेवार छ।
यी नतिजाले ताजा पानीको इकोसिस्टममा जलवायु परिवर्तनको ठूलो असर परेको देखाउँछ। स्वस्थ जैविक समुदाय र जलीय जीवनका लागि पर्याप्त अक्सिजन आवश्यक हुन्छ। चाइनिज एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ता झाङ युनलिनको बुझाइ छ, ‘अक्सिजनको कमीले प्रजाति लोप हुने, जलीय जीवको मृत्यु हुने र व्यावसायिक माछा मार्ने उद्योग धराशायी हुने जोखिम छ।’
सहलेखक शि कुनको विचारमा तालमा पोषक तत्वको मात्रा घटाउन जोड दिनुपर्छ। उनले भने, ‘डुबेका वनस्पति रोप्ने र सिमसार बनाउने कामले तालको पारिस्थितिक प्रणाली सुधार्न सक्छ।’ तर, जलवायु परिवर्तन र गर्मीको लहर रोक्न कुनै ठोस सुझाव दिइएको छैन। यो अध्ययनमा चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका अनुसन्धानकर्ता पनि सहभागी थिए। सिन्ह्वा

