

गृहमा आकस्मिक बैठक, चाँडै स्थिति नियन्त्रणमा आउँछ : एसएसपी अधिकारी

काठमाडौं – राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।
गृहमन्त्री रमेश लेखक, गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी बैठकमा प्रदर्शनको समीक्षा गर्दै अबको रणनीति तय गर्ने निर्णय भएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन चर्किएपछि प्रशासनले कर्फ्यु लगाउने निर्णय गरेको छ। गृहमन्त्रालयका अनुसार ५/१० जनाको समूह जम्मा भएर आगजनी तथा तोडफोड गर्ने गतिविधि भइरहेको देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति चाँडै नियन्त्रणमा आउने बताएका छन्। उनका अनुसार ठूलो संख्यामा थप सुरक्षा बल परिचालन गरिएको छ, जसमा अन्य युनिटहरूबाट पनि सहयोग पुगेको छ ।
विशेष गरी तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले तत्काल कर्फ्यु लगाएको हो। प्रदर्शनकारीहरूले केही घरमा आगजनी र तोडफोडसमेत गरेको जानकारी प्राप्त भएको छ ।

