

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: पार्टी प्रमुख पुरानै दोहोरिने निश्चित, महासचिवमा को पर्ला ?

काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु लागेको छ।
नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।
पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको माओवादी नेता र जानकारहरूको भनाइ छ। माओवादी वृत्तमा पार्टीको अध्यक्षभन्दा पनि त्यसपछि शक्तिशाली मानिने महासचिव पदमा को आउँछ भन्ने विषयमा धेरैको चासो छ।
पुस ११ गतेदेखि १५ सम्म काठमाण्डूको प्रज्ञाभवनमा १,५०० प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले यसअघि जस्तै अध्यक्ष मात्रै चयन गरेर बाँकी पदाधिकारी चयन थाती राख्न सक्ने आशङ्का पनि कतिपयले गरेका छन्।
माओवादीको अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी पछि चयन गरिएको थियो। तीन दशकदेखि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको माओवादी नेता राम कार्की बताउँछन्।
‘त्यो ‘पार्टी अध्यक्ष फेरिने स्थिति देख्दिनँ। त्यो हुनुपर्थ्यो, भएन। कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन,’ सम्मेलनबाट नेतृत्व परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा कार्कीले भने।
माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ। विगत १५-२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको भन्दै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए।
‘नेता भनेको कहिले पनि अंश दिएर हुने होइन। त्यसरी त शिष्य मात्रै हुन्छन्, नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ। विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेता आउँछन्,’ कार्कीले भने।
यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए। दशवर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन्।
एमाले चितवनबाट सुध्रियो, काँग्रेस काठमाण्डौंबाट सुध्रिदैछ र माओवादी केन्द्र विगत चौतिस बर्षदेखि प्रचण्डको नेतृत्वमा निरन्तर सुध्रिरहेकै छ। बाँकी दलहरू बिग्रेकै छैनन्- सुध्रिनु नै किन पर्यो ररु बिग्रेको त व्यवस्था मात्र हो, दलहरू त सुध्रिसके।
दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तरविरोध पछि एक दशकअघि अलग पार्टी गठन गरे। वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन्।
माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन्।
प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट बाहिरिँदा माओवादीमा प्रचण्डपछिको नेतृत्वका उत्तराधिकारी बन्न नसकेको बताइन्छ। महाभारतको एउटा प्रसङ्गको उदाहरण दिँदै माओवादी नेता कार्की नेतृत्वले पनि पार्टीको जिम्मेवारी हस्तान्तरणको नीति नलिएको बताएका छन्।
नेतृत्व कस्तो बन्ला?
सम्मेलनमा पार्टीको विचार, कार्यदिशा र सङ्गठनात्मक संरचनाबारे बहस हुने बताइएको छ। माओवादीमा लामो समयदेखि पदाधिकारीमा जिम्मेवारी विभाजन गरेर सामूहिक नेतृत्व गर्ने प्रणाली अवलम्बन गर्ने विषयमा बहस हुँदै आएको छ। माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भए पनि अध्यक्षबाहेक अरू सबै पद रिक्त छन्।
माओवादी नेतृत्व बहुपदीय हुने भनिए पनि त्यो कस्तो हुने टुङ्गो लाग्न नसकेको नेताहरूले बताएका छन्। माओवादी नेताहरूका अनुसार पार्टीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद थप गर्नेबारे छलफल चलिरहेको छ। माओवादीले प्रदेश र स्थानीय तहमा सातजना पदाधिकारी रहने व्यवस्था पारित गरेको छ।
केन्द्रमा पनि विगतको भन्दा पदाधिकारी सङ्ख्या थप गर्नेबारे छलफल भइरहे पनि त्यसको टुङ्गो राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट मात्रै टुङ्गो लाग्ने माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए।
आकाङ्क्षी को छन् ?
माओवादी केन्द्रमा अहिलेसम्म चार जनालाई प्रचण्डपछि शक्तिशाली मानिने भावी महासचिव पदको उम्मेदवारको रूपमा हेरिएको माओवादीभित्र अन्तरसङ्घर्ष पुस्तकका लेखक तथा पत्रकार नेत्र पन्थीको बुझाइ छ।
उनले पूर्वमहासचिव कृष्णबहादुर महरा, सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन र पम्फा भुसाल माओवादी महासचिवको दाबेदार भएको बताए।
‘प्रचण्डका समकक्षी नेताहरू अहिले माओवादीमा कोही पनि छैनन्। त्यस कारण तुरुन्तै नेतृत्व परिवर्तन हुने कुनै छाँट छैन,’ पन्थी भन्छन्।
महरा यसअघि विवादमा आएका कारण उनलाई उपाध्यक्ष बनाएर बाँकी तीन नेतामध्येबाट महासचिव चयन गर्ने प्रचण्डको तयारी हुनसक्ने पन्थीको विश्लेषण छ। तीन आकाङ्क्षीमध्ये वर्षमान पुन स्वास्थ्य समस्याका कारण उपचाररत रहेका कारण अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालको दाबेदारी बलियो रहेको उनको बुझाइ छ। बीबीसी

