बुद्ध एयरको जहाजमा जहिल्यै समस्या, कति सुरक्षित?


काठमाडाैं – चार दशकभन्दा लामो समय हवाई सेवा दिँदै आएको नाम हो बुद्ध एयर। उसको उडान धेरै यात्रुले भरपर्दो र विश्वासिलो मान्छन्। तर, पछिल्ला समयमा बुद्ध एयरका धेरै विमानहरुमा प्राविधिक समस्या आउन थालेपछि विश्वसनीयतामाथि यात्रुहरुले प्रश्न उठाउने गरेका छन्।

पछिल्लो समय बुद्ध एयरको जहाजले पटक–पटक आकस्मिक अवतरण र फोर्स ल्यान्डिङ गरेको समाचार सुनिन्छ। यसको कारण के हो? धेरैलाई थाहा नहुन पनि सक्छ। पटक–पटक प्राविधिक समस्या देखिएका बुद्ध एयरका जहाज पुरानो र सेकेन्ड ह्यान्ड जहाज हो।

अन्य वायुसेवा कम्पनीको तुलनामा बुद्धसँग जहाज संख्या धेरै छ। बुद्ध एयरका १५ वटा जहाजले दैनिक १ सय ५० वटा फ्लाइट गर्छ। नेपाली वायुसेवाको ६५ प्रतिशत हिस्सा बुद्ध एयरले नै ओगट्दै आएको छ।

तर, संख्या मात्र धेरै छ भन्दैमा जहाजमा देखिएको प्राविधिक समस्यालाई समाधान नगर्दै यात्रुहरुको ज्यान जोखिममा पारेर उडान भर्न दिन मिल्छ? कहिलेकाहिँ मात्रै जहाजमा प्राविधिक समस्या आए पनि यो गम्भीर विषय हो।

प्राविधिक समस्या आउनेबित्तिकै जहाजलाई मर्मत गर्नतिर लाग्ने कि पैसाको लोभमा राम्रोसँग मर्मत नै नगरी उडान भर्न दिने? बुद्ध एयरको चरम लापरबाहीले पछिल्लो समय यात्रुहरु त्रसित हुनुपरेको अवस्था छ। त्यसैले यात्रुहरुले बुद्ध एयरमाथि विश्वास गर्न छाडेका छन्।

सुरक्षित तथा भरपर्दो मानिएको बुद्ध एयरको जहाज नै पटक–पटक बिग्रन थालेपछि चढ्ने कि नचढ्ने? बुद्ध एयरले एटीआर कम्पनीका जहाज प्रयोग गर्दै आएको छ। विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ। तरपनि सुरक्षामा लापरवाही गर्दै आएको धेरै घटनाहरुले पुष्टि गरेको छ।

त्यसो भए अन्य वायुसेवा कम्पनीको तुलनामा बुद्ध एयरको जहाज धेरै भएको कारण समस्या पनि संख्यात्मक रूपमा धेरै देखिएको हो? यस विषयमा बुद्ध एयरका एक कर्मचारीको भनाइ यस्तो छ– जहाज धेरै भएपछि समस्या आयो भने पनि देखिन्छ। अरूको पनि समस्या नआउने होइन। आइरहेका हुन्छन् तर हाम्रोमात्रै बाहिर देखिन्छ।

गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया दिएको बुद्ध एयरसँग भएका १५ वटै जहाजको अवस्था त्यसो भए सुरक्षित छ त? यदि सबै जहाज सुरक्षित भएको भए दिनदिनै जसो जहाजमा समस्या किन देखिन्छ? यो गम्भीर प्रश्न हो।

प्रसंगतर्फ जोडिऔं

घटना नम्बर १

बिहीबार चितवनको भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुरमै आकस्मिक अवतरण भयो। बुद्धको ९ एन एईई कल साइनको बीचक्राफ्ट जहाजले धावनमार्ग छोडेको दुई मिनेटमै पाइलटले भरतपुर कन्ट्रोल टावरसँग आकस्मिक अवतरणको अनुमति मागे।

जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि भरतपुर विमानस्थलमा जहाजलाई आकस्मिक अवतरणका लागि दमकलसहित तारतम्य मिलाइएको थियो। जहाजमा सवार १८ जना यात्रु र चालकदल सबैको सुरक्षित अवतरण गराई उनीहरूलाई अर्को जहाजमा काठमाडौं ल्याइयो।

घटना नम्बर २

११ असोज २०७८ बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगरको लागि उड्यो। उडान संख्या यु४७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु लिएर विराटनगर उडेको थियो।

जहाज विराटनगरको आकाशमा पुग्यो। दुई फन्को लगायो। तर बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्कियो। विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार विराटनगरबाट फर्केर उक्त जहाजले काठमाडौंको आकाशमै झन्डै १० फन्को लगायो।

सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरियो। काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरियो। विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए।

अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरियो। जहाजले करिब २ घण्टा ५ मिनेट फन्को मारेको थियो।

विमानमा चढेका यात्रुहरुको २ घन्टा ५ मिनेट समय असाध्यै तनावपूर्ण रह्यो। जहाजभित्रै रूवाबासी चल्यो। कतिपय त बेहोस नै भए होलान्। एयर होस्टेसको आँखामा आँसु थियो। उक्त जहाजका पाइलट थिए क्याप्टेन एजी शेर्पा।

घटना नम्बर ३

सोही दिन अर्थात ११ असोज २०७८ मा बुद्ध एयरको अर्को जहाजमा समस्या देखियो। ककपिटमा धुवाँ देखिएपछि बुद्ध एयरकै अर्को जहाज पोखराबाट काठमाडौं फिर्ता भयो। बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हो।

घटना नम्बर ४

गत साउन ११ गते पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। काठमाडौं–धनगढी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो।

घटना नम्बर ५

यसअघि गत मंसिर २२ मा पनि बुद्धको ९ एन एएनआई जहाज भैरहवामा अवतरण गर्नेबित्तिकै जहाजको दायाँ प्रोपेलरमा समस्या देखिएपछि जहाजलाई तत्काल ग्राउन्डेड गरिएको थियो।

जहाजमा प्राविधिक समस्या आएपछि यात्रुहरू उक्त जहाजमा नजाने भन्दै अडान राखेका थिए। त्यसपछि उनीहरूलाई भोलिपल्ट बिहान अर्कोए जहाजमा काठमाडौं अवतरण गराइएको थियो।

०००

यसरी पछिल्लो समय बुद्ध एयरका जहाजमा प्राविधिक समस्या आएका सामाचार सामान्यजस्तै बन्न थालेका छन्। तर, बुद्ध एयर भने आफ्नो ढाकछोप गर्दै समाचारप्रति विश्वास नगर्न आग्रह गर्दै विज्ञप्ति निकाल्छ। पछिल्लो समय बुद्ध एयरको काम समाचारमा आएको समाचारको खण्डन गर्दै विज्ञप्ति निकाल्ने मात्र मात्र भएको छ।

गत असोजमा भएको बुद्ध एयरको ल्याण्डिङ गियर प्रकरणपछि मात्रै चारपटक प्राविधिक समस्याका कारण जहाज ग्राउन्डेड गर्नुपर्ने स्थिति आइसकेको छ। हिजो अर्थात बिहीबारको घटना पहिलो समस्या भने होइन। पछिल्लो समय बुद्ध एयरका धेरै विमानहरूमा प्राविधिक समस्या आइरहेका घटना सार्वजनिक हुँदा सम्बन्धित निकाय मौन छ।

बुद्धले हरेक यस्तो घटनापछि सुरक्षित उडानमा आफू प्रतिबद्ध रहेको जनाउने गरेको छ। तर यसरी समस्या दोहोरहनु गम्भीर समस्या भएको विज्ञहरुको भनाइ छ। जहाज दुर्घटना बाहेकका अन्य घटनाहरुमा छानबिन समिति बनाउने प्रचलन छैन।

तर, पछिल्लो समय बुद्ध एयरले विराटनगर घटना छानबिनका लागि छानबिन समिति पनि गठन गर्यो। समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझायो। त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन पनि गर्यो। तर छानबिन भने गुपचुप राखिएको छ।

यसरी पटक पटक बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिनुको कारण अधिकांश जहाजहरु पुरानो भएकाले नै हो। नाइन एनएएनआई अर्थात विराटनगर उड्दा समस्या देखिएको जहाज १५ वर्ष पुरानो जहाज हो। उक्त जहाज बुद्धले पुरानो ल्याएको हो। बुद्धले २०१९–९–१४ मा सेकन्ड ह्यान्डको रुपमा खरिद गरेको हो। यो जहाज २००७–१२–५ देखि भारतीय आकाशमा उडेको थियो।

त्यस्तै ११ असोजमा काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पनि २४ वर्ष पुरानो जहाज हो। यो जहाज सुरुमा फ्रान्सको एयर ताहितीले प्रयोग गरेको थियो। यसपछि भारतको एयर डेकनले प्रयोगमा ल्यायो। बुद्धले नेपालमा सन् २०१० मा किनेर ल्याएको हो। यो जहाज सन् १९९७ देखि उडिरहेको छ।

बिहीबार आकस्मिक रुपमा भरतपुरमा अवतरण गराइएको जहाज पनि पुरानो हो। करिब १७ वर्ष पुरानो जहाज लामो समयदेखि नेपाली आकाशमा उडान भर्दै आइरहेको छ। यस विषयमा बुद्ध एयरका प्रवक्ता रुपेश जोशीलाई सम्पर्क गर्दा सम्पर्कमै आउन चाहेनन्।

प्रतिक्रिया