

भारत–पाक तनावले नेपाल–पाक व्यापारमा असर गर्छ ?

काठमाडाैं- पाकिस्तान हाल युद्धसमान अशान्त स्थितिमा छ। जुन भारतको हालैको क्षेप्यास्त्र प्रहारपछि उत्पन्न भएको हो। भारत प्रशासित कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित २५ पर्यटक मारिएपछि भारतले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा प्रतिशोधस्वरूप क्षेप्यास्त्र आक्रमण गरेको थियो। यस घटनाले न केवल पाकिस्तानको आन्तरिक स्थिति बिगारेको छ, तर दक्षिण एशियाली क्षेत्रको व्यापारिक सन्तुलनमा समेत गहिरो असर पार्न थालेको छ।
विशेषगरी नेपाल–पाकिस्तान व्यापारसम्बन्धमा संकटको संकेत देखिन थालेको छ। भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षमा नेपालले पाकिस्तानबाट २५ करोडभन्दा बढी मूल्यका वस्तु आयात गरिसकेको देखाएकाे छ। जबकि निर्यात केवल ६ करोडको मात्र भएको छ। प्रमुख आयात हुने वस्तुहरूमा मसला, औषधि, सौन्दर्य सामाग्री, औषधिजन्य जडीबुटी र रासायनिक पदार्थहरू छन्।
यदि पाकिस्तानको अस्थिरता युद्धतर्फ उन्मुख भयो भने यी वस्तुको आपूर्ति अवरुद्ध हुने र नेपाली बजारमा अभाव सिर्जना हुने जोखिम उच्च छ।
साथै, पाकिस्तानका प्रमुख विमानस्थलहरू बन्द हुँदा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा तत्काल प्रभाव पर्न थालेको छ। एअर फ्रान्सलगायत केही अन्तर्राष्ट्रिय एयरलाइन्सले पाकिस्तानमाथिका उडानहरू रद्द गरिसकेका छन् भने अन्य विमानहरू वैकल्पिक मार्गमा डाइभर्ट भएका छन्।

