

कांग्रेसले गभर्नरमा विश्व पौडेलकाे नाम प्रस्ताव गरेको चर्चा

काठमाडौं – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा सिफारिस समितिका सदस्य विश्व पौडेलको नाम प्रस्ताव गरेको चर्चा चलेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम गभर्नरका लागि अघि सारेकाे बताइएकाे छ। यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन।
गएको चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त भएपछि वैशाख ३ गते देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। सहमतिअनुसार भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए, तर कायममुकायम गभर्नर नीलम ढुंगानाले उक्त राजीनामा स्वीकृत नगरेपछि परिस्थिति जटिल बन्दै गएको हो।
ढुंगाना स्वयं गभर्नर बन्ने आकांक्षा राखेकी छिन्। यस्तै अवस्थामा कांग्रेसले वैकल्पिक नामका रूपमा पौडेललाई अघि सारेको हो। पौडेल हाल गभर्नर चयनका लागि गठित सिफारिस समितिका सदस्य रहेका छन्, त्यसैले गभर्नर बन्नुअघि उनले उक्त समितिबाट राजीनामा दिनुपर्ने हुन्छ।
सरकारी स्रोतका अनुसार पौडेलको राजीनामा स्वीकृत गर्ने र उनको ठाउँमा नयाँ सदस्य नियुक्त गर्ने प्रक्रिया सोमबारको मन्त्रिपरिषद् बैठकबाट सुरु हुने सम्भावना छ। यदि प्रक्रिया ढिला नभएमा बिहीबारसम्म नयाँ गभर्नरको नियुक्ति हुने कांग्रेस नेताहरुको दाबी छ।

