

आवासीय चिकित्सकसँगको समझदारी कार्यान्वयन गर्न कार्यदल गठन

काठमाडौं – आवासीय चिकित्सकसँग भएको समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। कार्यदलको संयोजकत्व स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीले गर्नेछन्।
कार्यदलमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य रहेका छन्।
त्यस्तै, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर प्राडा लोचन कार्की, काठमाडौँ विश्वविद्यालयका डिन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन्।
कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर र अतिरिक्त सुविधा लगायतका विषयमा मूल्यांकन गर्न तथा सुधारका लागि अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्दै कार्यान्वयन योग्य सिफारिस तयार पार्ने कार्यादेश दिइएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कार्यदलले दुई साताभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।
गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकको सेवा तथा सुविधाबारे सहमति जुटेको थियो। त्यसअनुसार ड्युटी समय, बिदा र अतिरिक्त सुविधासम्बन्धी सुझाव दिन कार्यदल गठन गरिएको हो।

