आकाशमा दुई घण्टा फन्को मारेको बुद्ध एयरको जहाजमा प्राविधिक गडबडी नदेखिएपछि नियमित उडान थाल्यो
काठमाडौं – प्राविधिक समस्या आएर हिजो (सोमबार) ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरु गरेको छ।
प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको उक्त जहाजमा कुनैपनि प्राविधिक गडबडी नदेखिएपछि मंगलबार बिहानैबाट संचालनमा आएको हो ।
कम्पनीको यो जहाजमार्फत आज (मंगलबार) बिहानैदेखि नियमित उडान सुरु गरेको बुद्ध एयरले जानकारी दिएको छ।
नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए।
‘बुद्ध एयरको टेक्निकल टिमले जहाजको मिहिन परीक्षण तथा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा कल साइन ९ एन(एएनआई आजदेखि पुनः उडान सेवा थालेको छ।
उक्त जहाजलाई नागरिक उड्डयन प्राधिकरणको टोलीले पनि निरीक्षण गरेको थियो’, कर्णले भने, ‘जहाजमा कुनै प्राविधिक गडबडी नदेखिएपछि ७२ सिटे उक्त जहाजले आज बिहानैदेखि उडान सेवा सुरु गरेको छ।’
बुद्ध एयरको उक्त विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।