३ वर्षको लभ, तर बिहे गर्नेबेला दुलाहा बेपत्ता भएपछि दुलही प्रहरीमा


कैलाली – विवाहको सम्पूर्ण तयारी सकिएपछि कैलालीमा एक युवक सम्पर्कविहीन भएका छन्। दुलाहा हराएपछि चिन्तित भएकी युवती इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेकी छन्।

इलाका प्रहरी कार्यालयका अनुसार गौरीगंगा नगरपालिका–४ राजीपुर निवासी २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) र संगिता बुढा (नाम परिवर्तन) बीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। उनीहरूको विवाह वैशाख ३० गते हुने तय भएको थियो।

बिहेको लागि दुबैजनाले आफन्त र नातेदारलाई निमन्त्रणा गरिसकेका थिए। त्यसै सिलसिलामा वैशाख २५ गते भारतको पलिया र नेपालका धनगढी बजारमा विवाहको लागि गहना, लत्ताकपडा लगायतको किनमेलसमेत गरेका थिए।

उक्त दिन दुबै जना धनगढीबाट छुटिएका थिए। तर, त्यसपछि रमेश अचानक सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। दुलही आइतबार प्रहरी चौकी पुगेर दुलाहाको खोजी गर्न आग्रह गरेकी हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले युवकको खोजी भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया