थुनामा सबैभन्दा ‘ह्यान्डसम चोर’: क्रेटा चढेर भाटभटेनीमा रक्सी चोर्ने विमल


काठमाडौं- प्रायः चोरी गर्नेहरु लुकीछिपी हिड्छन्, पुराना लुगा लगाउँछन् र कुनै शंका नउठ्ने गरी व्यवहार गर्छन् । तर, दोलखाका ३७ वर्षीय विमल श्रेष्ठ भने यो परिभाषाभन्दा धेरै भिन्न छन् । उनी ‘क्रेटा’ जस्तो महँगो गाडी चढेर नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा पसे, ‘ब्लु लेबल’ र ‘ग्लेन्डफिडिच’जस्ता महँगा रक्सी, ड्राइफ्रुट र चुरोट झोलामा हालेर सजिलै बाहिरिए ।

पक्राउ परेपछि उनी अहिले मालीगाउँ प्रहरी वृत्तको थुनुवा कक्षमा छन् । तर, थुनामा रहेका अन्य १९ जनामध्ये सबैभन्दा फरक देखिने, ‘ह्यान्डसम चोर’ भनेर चिनिन थालेका छन् विमल ।

सुरुमा उनलाई देख्दा धेरैले ठूला व्यवसायी होलान् भन्ने सोचे । प्रहरीले जब उनले चोरीको मुद्दामा पक्राउ परेको जानकारी दियो थुनुवाहरु नै छक्क परे । थुनामा ‘गम्भीर अपराधी’ भन्दै सम्मान पाइने चलनमा विमलले अर्कै कारणले स्थान बनाए । उनको ‘लुक’ र ‘स्टाइल’ ।

आफ्नै मालिकको गाडी प्रयोग
प्रहरी अनुसन्धान अनुसार, विमल नेपाल आयल निगमका एक उच्च अधिकारीको निजी सवारी चालक थिए । उनले भाटभटेनी पुग्नकै लागि यही गाडी प्रयोग गरेका थिए । जति चलाखीले उनी गाडीमा आएका थिए, त्यति नै सफाइका साथ उनले झोलामा महँगा मदिरा, ड्राइफ्रुट र चुरोट राखे र निस्किए । तर त्यो चालाखी सीसीटीभीबाट लुक्न सकेन ।

प्रहरीको क्राइम रेकर्ड अनुसार, विमल कुनै सामान्य चोरीमा संलग्न व्यक्ति होइनन् । उनीमाथि आठवटा चोरीका मुद्दा दर्ता छन् । सात वर्षदेखि चोरीमा संलग्न उनी यसअघि पनि भाटभटेनीकै भक्तपुर शाखामा चोरी गर्न खोज्दा पक्राउ परेका थिए । तर त्यसबेला छुटेका थिए ।

 

 

प्रतिक्रिया