

२९ वर्षे सेवाअवधिमा अकुत सम्पत्ति आर्जन, सब–इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पौड्यालमाथि ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँको अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आइतबार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार पौड्यालले आफ्नो पदीय मर्यादा विपरीतका कार्यमार्फत गैरकानुनी रूपमा उक्त सम्पत्ति आर्जन गरेका हुन्।
उनले २०५१ सालको ९ वैशाखदेखि २०८० सालको ३१ असारसम्मको अवधिमा अकुत सम्पत्ति कमाएको आरोपपत्रमा उल्लेख गरिएको छ।

