

क्रिस्चियन गीतमा अभिनयपछि ‘विवादित’ बनेका सुरवीर पण्डितले मागे माफी

काठमाडौं – क्रिस्चियन धर्मप्रचार गीतमा अभिनय गरेर विवादमा तानिएका वरिष्ठ कलाकार सुरवीर पण्डितले भिडियो सन्देशमार्फत सार्वजनिक माफी मागेका छन्।
उनले आफूले कसैको भावना दुखाउने नियत नराखेको प्रष्ट पार्दै अबदेखि आफ्नै धर्म र संस्कृतिको जगेर्नामा लाग्ने प्रतिबद्धता जनाएका छन्।
‘मेरी बास्सै’ को सुटिङ स्थलबाट भिडियो सन्देश दिँदै उनले दर्शक–श्रोतासँग आशीर्वाद मागेका छन् र आफूलाई अज्ञानी सम्झेर क्षमा दिन अनुरोध गरेका छन्।
‘कलाकार भए पछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उदेश्य अभिनय मात्रै गर्न थियो, अरू थिएन्,’ उनले भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ति गरेको अनुभति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ति हामीवाट हुन्न ।’
उक्त गीतमा सुरवीरसँगै देखिएका रामचन्द्र अधिकारीलाई पनि क्षमा गर्न आग्रह गर्दै, दुबैले भविष्यमा यस्ता काम नगर्ने प्रतिवद्धता जनाएका छन्।

