

दिलीप र राजको घर संरक्षण गर्दै पाकिस्तान सरकार

पेशावर(एजेन्सी)– बलिउड अभिनेता दिलीप कुमार र राज कपूरको पाकिस्तानस्थि पैतृक निवासलाई पाकिस्तान सरकारले संरक्षण गर्ने भएको छ । त्यसका लागि सरकारले त्यसको मूल्य पनि निर्धारण गरेको छ । सरकारले दिलीप कुमारको घरको मूल्य ३७ लाख र राजकपूरको घरको मूल्य ६८ लाख भारतीय रुपैंयाँ तोेकेको छ ।
गत सेप्टेम्बरमा पाकिस्तानको खैबरपख्तूनख्वा प्रान्तको सरकारले यी दुई महान अभिनेताको घर किनेर संरक्षण गर्ने घोषणा गरेको थियो । यद्यपि अहिले ती घरको अवस्था निकै खराब छ । पेशावरको डेप्यूटी कमिश्नर मुहम्मद अली असगरले दिलीप कुमार र राजकपूरको पैतृक घर सहरको बीचमा रहेको बताए । पुरातत्व विभागले यी सम्पत्तिलाई आफ्नो अधिकारमा लिनका लागि औपचारिक रुपमा प्रस्ताव पठाएको थियो ।
हालैको दिनमा सम्पत्तिका लागि सरकारले दुई करोड रुपैंयाँको प्रावधान बनाएको छ । दुवै अभिनेता यिनै घरमा जन्मिएका थिए र भारत पाकिस्तान विभाजन अघि उनीहरुको बाल्यकाल यही बितेको थियो । राजकपूरको पैतृक निवास किस्सा ख्वानी बजारमा कपूर हवेलीको नामले प्रख्यात छ । जो सन् १९१८ मा बनेको थियो । दिलीप कुमारको पैतृक निवास पनि सयौं वर्ष अघि नै बनाइएको मान्यता छ ।

